सर्लाही — सर्लाहीको गोडैता नगरपालिका–७ का वडाध्यक्ष विनेश कुमार दासलाई प्रहरीको निर्देशनमा विवाद मिलाउन पुगेको अवस्थामा उल्टै पक्राउ गरिएको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्।

प्रहरीले भने वडाध्यक्षमाथि प्रहरी चौकीमा आक्रमण र प्रहरीमाथि कुटपिट गरेको आरोप लगाएको छ। मंगलबार इलाका प्रहरी कार्यालय कर्मैया अगाडिबाट वडाध्यक्ष दासलाई पक्राउ गरिएको सर्लाही प्रहरीका सूचना अधिकारी डिएसपी सरोज राईले जानकारी दिए। उनका अनुसार असोज १७ गते साँझ गोडैता प्रहरी चौकीमाथि ढुंगामुढा र कुटपिट हुँदा वडाध्यक्षकै नेतृत्वमा समूह पुगेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रहरीले दासलाई कुटपिट, अङ्गभङ्ग, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवको अभियोगमा मलंगवा स्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ। उनको म्याद बुधबार जिल्ला अदालतबाट थप गर्ने तयारी भइरहेको जनाइएको छ।

आक्रमणबाट गोडैता प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक अवधेश प्रसाद यादवका दुई दाँत भाँचिएको र अन्य पाँच प्रहरी घाइते भएको प्रहरीले जनाएको छ। ढुंगामुढा र बाँसको भाँठा प्रहार हुँदा तीन मोटरसाइकलमा क्षति पुगेको दाबी गरिएको छ।

घटना दुर्गा पूजाका लागि चन्दा उठाउने विषयमा सुरु भएको विवादसँग सम्बन्धित रहेको बताइएको छ। प्रहरी नियन्त्रणमा रहेका ठेकेदार अनिल राय यादवले स्थानीय कारिल यादवमाथि कुटपिट गरेको विषयमा पंचायतीका क्रममा वडाध्यक्ष दास पनि चौकी पुगेका थिए।

प्रत्यक्षदर्शीका अनुसार, ‘दुई पक्षबीचको विवाद मिलाउन जिल्ला प्रहरी कार्यालयका एसपीले नै वडाध्यक्षलाई चौकी पठाएका थिए। तर त्यहाँ पुग्दा पहिले नै ढुंगामुढा भइरहेको थियो।’

गोडैता नगरप्रमुख देवेन्द्र यादवले वडाध्यक्ष निर्दोष रहेको दाबी गर्दै भने, “राजनीतिक पूर्वाग्रह राखेर जनप्रतिनिधिलाई पक्राउ गरिएको छ। विवाद मिलाउन पुगेको भिडियोलाई नै प्रमाण बनाइराखिएको छ।”

वडाध्यक्षको पक्राउपछि बुधबार बिहानदेखि गोडैता बजार पूर्णरूपमा बन्द गरिएको छ। स्थानीयले निष्पक्ष छानबिन र वास्तविक दोषीको पहिचानको माग गरेका छन्।

घटनापछि गोडैता प्रहरी चौकीमा सुरक्षाकर्मीको संख्या बढाइएको छ।