काठमाडौं— आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशलाई जेनजी आन्दोलनको हत्यारा, दमनकारी, भ्रष्टाचारी र हाईज्याकरबाट जोगाउन देशभक्त तथा राष्ट्रवादी शक्तिहरूबीच एकता आवश्यक रहेको बताएका छन्।
शनिबार काठमाडौंको प्रज्ञा भवनमा आयोजित आजपा बागमती प्रदेश निर्वाचन परिचालन समितिको बैठकलाई सम्बोधन गर्दै साहले केपी ओली, आरजु राणा र रमेश लेखकलाई जेनजी आन्दोलनमा दमन र युवाको हत्या गर्ने कित्तामा राखेका छन्। उनले जेनजी आन्दोलनको बलमा जेलबाट उम्किएको भन्दै रवि लामिछाने र आन्दोलन कब्जा गराएको आरोपसहित बालेन शाहलाई ‘हाईज्याकर’को रूपमा चित्रण गरे।
साहले जेनजी आन्दोलनको मर्मलाई वर्तमान सरकार र त्यसमा संलग्न नेताहरूले कुल्चिएको आरोप लगाउँदै गैरदलीय सरकारमा बसेकाहरूले अवसरका लागि आन्दोलनलाई धोका दिएको दाबी गरे। उनले कुलमान घिसिङ, रवि लामिछाने र बालेन शाहले देशलाई सही नेतृत्व दिन नसक्ने ठोकुवा पनि गरे।
बालेन शाहमाथि काठमाडौं महानगर प्रमुख हुँदा गरिब, मधेशी र श्रमिक वर्गमाथि दमन गरेको आरोप लगाउँदै साहले उनलाई ‘नक्कली नेता’ भन्दै भ्रममा नपर्न मतदातालाई आग्रह गरे।
कार्यक्रममा आजपा नेता धनकुमारी थापाको अध्यक्षता रहेको थियो भने जनादेश पार्टीका अध्यक्ष रमण कर्ण, आजपा सहअध्यक्ष तिलक थापामगर, वरिष्ठ पत्रकार ऋषि धमला लगायतको सहभागिता रहेको जनाइएको छ।



















