काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सप्तरी निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा उम्मेदवार अमरकान्त चौधरीसहित नौ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको छ।
अख्तियारले सप्तरीको डाक्नेश्वरी नगरपालिकालाई पत्राचार गर्दै चौधरीसहित नौ जनालाई आयोगको कार्यालयमा उपस्थित गराइदिन आग्रह गरेको हो। अख्तियारका अनुसार डाक्नेश्वरी नगरपालिका–५ स्थित पर्नेश्रीकान्त चन्द्र नमुना माध्यमिक विद्यालयको भवन निर्माण कार्यमा भ्रष्टाचार भएको भन्ने उजुरीको अनुसन्धान भइरहेको छ।
अख्तियारले पठाएको पत्रमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरकान्त चौधरीसहितको मिलेमतोमा भवन निर्माणमा भ्रष्टाचार भएको आरोप उल्लेख गर्दै आवश्यक सोधपुछ तथा बयानका लागि नागरिकताको प्रमाणित प्रतिलिपिसहित कागजात उपलब्ध गराई आयोगको इटहरीस्थित कार्यालयमा उपस्थित गराइदिन अनुरोध गरिएको छ।
पूर्वसांसद तथा दिवंगत नेता चन्द्रकान्त चौधरीका छोरा अमरकान्त चौधरी हाल रास्वपाबाट सप्तरी–३ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेर चुनावी प्रतिस्पर्धामा छन्।




















