विराटनगर — कोशी प्रदेश सरकारले केही दिनअघि आएको बाढी–पहिरोले भत्किएका र बगाएका सबै घर पुनर्निर्माण गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको प्रदेश विपद व्यवस्थापन परिषद्को बैठकले सबै घर बनाइदिने निर्णय गरेको हो।
विशेषगरी विपतबाट बढी प्रभावित इलाम, झापा र मोरङका घरहरू तत्कालै निर्माण सुरु गरिने कोशी प्रदेश सरकारले जानकारी दिएको छ। घरहरूको सम्पूर्ण विवरण संकलन गर्दै निर्माण कार्य पनि तीव्र रूपमा अघि बढाइने निर्णय बैठकमा भएको छ।
बैठकले इलाम जिल्लाका सातवटा पालिकालाई संकटग्रस्त घोषणा गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ। पुनर्निर्माण र राहत कार्य समन्वय गर्न आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना, भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी जिम्मा पाएका छन्। उनीहरूले स्थलगत निरीक्षण गर्दै पुनर्निर्माणलाई फिल्डमै तीव्रता दिनेछन्।
सुनसरीका लागि वन पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डल र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले समन्वय गर्ने जिम्मेवारी पाएका छन् भने झापा जिल्लाका लागि खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीले सबै पुनर्निर्माण तथा समन्वय कार्य अगाडि बढाउनेछन्।
बैठकले चालु बजेट र योजनाहरूबाट आवश्यक कटौती गरी पुनर्निर्माणमा खर्च गर्न सिफारिस गर्ने निर्णय गरेको छ। भौतिक पूर्वाधार मन्त्रालयलाई सबै खालका बाटोहरू खुलाउनका लागि आफ्ना संयन्त्र परिचालन गर्न निर्देशन पनि दिइएको छ।
मुख्यमन्त्री कार्कीले पुनर्निर्माण र राहत कार्यमा कुनै कसर नछोडी काम अघि बढाउन निर्देशन दिएका छन्। विपत प्रभावित सबै नागरिक, उद्योगी–व्यवसायी, अधिकारकर्मी, राजनीतिक पार्टी, बैंक तथा वित्तीय संस्था र कर्मचारीलाई सहयोग गर्न आह्वान गरिएको छ।



















