काठमाडौं — करिब दुई वर्षदेखि बेपत्ता रहेका कञ्चनपुरका नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको पुष्टि गर्ने नयाँ प्रमाण सार्वजनिक भएको छ।
इजरायली गुप्तचर निकायले जोशीको नयाँ भिडियो प्राप्त गरेको जेरुसेलम पोस्टले जनाएको छ। जोशी सन् २०२३ मा किबुत्ज आलुमिमबाट हमासद्वारा अपहरणमा परेका थिए।
बन्धक परिवार फोरमले उक्त भिडियो बुधबार बेलुकी सार्वजनिक गर्ने जनाएको छ। जेरुसेलम पोस्टका अनुसार जोशी परिवारले विज्ञप्ति जारी गर्दै भनेको छ, “गाजामा फेला परेको यो जीवनको प्रमाण, जुन हामी आज तपाईंहरूसँग साझा गर्दैछौं, यसले हामीलाई उहाँ जीवित हुनुहुन्छ भन्ने अटल विश्वास दिलाउँछ।”
जोशी कृषि शिक्षा कार्यक्रममा सहभागी हुन इजरायल पुगेका थिए। २०२३ अक्टोबरमा हमासले इजरायलमा आक्रमण गर्दा उनी अन्य नेपाली विद्यार्थीहरूसँगै अपहरणमा परेका थिए।
यो समाचारले नेपालमा पनि आशा जगाएको छ। परराष्ट्र मन्त्रालयका अधिकारीहरूले उक्त खबरबारे इजरायली पक्षसँग औपचारिक जानकारी लिने तयारी गरेको बताएका छन्।



















