काठमाडौं — नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्धको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको भन्दै आपत्ति जनाएको छ।
प्रहरीले हिजो २४ घण्टाभित्र अध्ययन गरेर निर्णय गर्ने बताएको थियो। तर आज जाहेरीमा ‘केरमेट’ भएको जनाउँदै दर्ता नगरेपछि अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालले प्रहरीको भूमिकामाथि प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै बडालले लेखेका छन्, “हिजो हामीले नेपाल प्रहरीका आँखा देख्ने अफिसरलाई जाहेरी बुझाएका थियौं। आज कसरी त्यो केरमेट भएछ? यस्तो बेतुकको तर्क प्रहरी अधिकारीबाट नै बाहिर आएको हो भने प्रहरीको मनोबल मात्र होइन, दृष्टि पनि बढाउनुपर्ने अवस्था आएको छ।”
जेन–जी आन्दोलनका क्रममा देखिएका अराजक गतिविधि र राष्ट्रिय सम्पदामाथि आगजनी गर्न उक्साउनेहरूमाथि कारबाहीको माग गर्दै अनेरास्ववियुले हिजो जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएको थियो। परिसरले अध्ययनपछि निर्णय गर्ने बताएकोमा आज उक्त जाहेरीमा ‘केरमेट’ भएको भन्दै दर्ता गर्न अस्वीकार गरेको हो।
अनेरास्ववियुका नेता बडालका अनुसार, संगठनको टोली अहिले वकिलसहित जिल्ला प्रहरी परिसर पुगेको छ। उनले भने, “हिजो उहाँहरूले हेरेरै लिनुभएको हो। केरमेट भएको भए त लिनु नै हुँदैनथ्यो होला। यो त बहानाबाजी मात्र हो।”



















