भक्तपुर — नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकालले पार्टीलाई चारैतिरबाट आक्रमण भइरहेको समयमा पार्टीभित्र पुनर्गठनको बहस उठाउनु असान्दर्भिक भएको टिप्पणी ’गरेका छन् ।

पार्टीको भक्तपुर जिल्ला कमिटीले गुण्डुमा आज आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै ढकालले भने,

“एमालेमा नेतृत्वको गठन र पुनर्गठन स्वाभाविक प्रक्रिया हो, तर अहिले पार्टी शत्रुहरूबाट आक्रमणमा परेको बेला सबैभन्दा ठूलो आवश्यकता एकताको हो।”

उनका अनुसार, नेतृत्वको पुनर्गठन सम्बन्धी विषय पार्टीको महाधिवेशन वा केन्द्रीय कमिटीले उचित फोरममा नै किनारा लगाउने हो। तर वर्तमान अवस्थामा पार्टीभित्र अनावश्यक बहस र प्रचारबाजी गर्नु पार्टी हितविपरीत हुने उनले बताए।

ढकालले भने, “पार्टी पुनर्गठनका नाममा विभिन्न प्रकारका प्रचार–प्रसार हुनु उपयुक्त छैन। अहिलेको सन्दर्भमा सबै नेता–कार्यकर्ताले एकतामा जोड दिनुपर्छ।”

उनले थपे, भदौ २० देखि २२ गतेसम्म सम्पन्न दोस्रो विधान महाधिवेशनले पार्टीको दिशानिर्देश स्पष्ट रूपमा तय गरिसकेको र जेनजी आन्दोलनले उठाएका सही एजेन्डा एमालेले आफ्नो बाटोमा समेट्ने बताए।