काठमाडौं — इजरायलले गाजामा युद्धविराम र बन्धक रिहाइसम्बन्धी अमेरिकी प्रस्तावित योजनालाई अनुमोदन गरेको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले विज्ञप्ति जारी गर्दै योजनाको औपचारिक स्वीकृति दिएको पुष्टि गरेको हो।
प्रधानमन्त्री नेतन्याहूले यसलाई “ऐतिहासिक विकास” भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आभार व्यक्त गरेका छन्।
यसैबीच, राष्ट्रपति ट्रम्पले इजरायली बन्धकहरू सोमबार वा मंगलबारसम्ममा रिहा हुनसक्ने बताएका छन्। उक्त सम्झौताको पहिलो चरणमा इजिप्टको मध्यस्थतामा इजरायल र हमासबीच सहमति भएको हो।
सम्झौता अनुसार, इजरायलले सयौं प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ भने इजरायली सेनाले गाजा पट्टीको करिब ५३ प्रतिशत भूभागबाट फिर्ता हुने बताइएको छ। ह्वाइट हाउसले गत हप्ता वितरण गरेको नक्साअनुसार, यो फिर्ता प्रक्रिया तीन चरणमा सम्पन्न हुनेछ।
पहिलो चरण सुरु भएपछि ७२ घण्टाभित्र हमासले जीवित रहेका विश्वास गरिएका सबै २० बन्धकहरूलाई रिहा गर्नुपर्नेछ। त्यसपछि मृत्यु भइसकेका २८ बन्धकहरूको शव फिर्ता गरिनेछ।
सम्झौता अनुमोदनपछि निम्न कार्यहरू तत्काल सुरु हुने अपेक्षा गरिएको छ—
गाजामा युद्धविराम लागू, इजरायली सेना फिर्ता, बन्धक र शव आदान–प्रदान, गाजामा मानवीय सहायता पहुँच
यो अमेरिकी नेतृत्वको “गाजा शान्ति योजना” को पहिलो चरण हो, जसमा इजरायलद्वारा प्यालेस्टिनी कैदीहरूको रिहाइ पनि समावेश गरिएको छ।



















