काठमाडौं—ललितपुरस्थित नख्खु कारागारबाट भागेका एक कैदीले राजधानीको ठमेल क्षेत्रमा एक युवकको हत्या गरेको खुलेको छ।

फरार कैदी आकाश मगरले २५ वर्षीय सुरज तामाङलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको हो।

घटना असोज १३ गतेको हो। मकवानपुर घर भई मनमैजु बस्ने तामाङमाथि मगरले ठमेलमा आक्रमण गरेका थिए।

खुकुरी प्रहारबाट गम्भीर घाइते तामाङलाई तत्काल उपचारका लागि वीर अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए।

प्रहरीका अनुसार हत्या पुरानो रिसइबीको कारणले भएको अनुमान गरिएको छ।

आरोपी आकाश मगर ‘लुटपाट तथा डकैती’ मुद्दामा सजाय भोग्दै नख्खु कारागारमा थिए। तर, २४ भदौमा जेन–जी आन्दोलनका क्रममा भएको कारागार तोडफोडपछि उनी फरार भएका थिए।

हत्या गरेपछि पनि मगर फरार छन्। प्रहरीले घटनास्थल वरपरका सीसीटीभी फुटेज र प्राविधिक प्रमाणका आधारमा मगरको संलग्नता पुष्टि गरेको जनाएको छ।

यसअघि पनि नख्खु कारागारबाट फरार काभ्रेका सन्तबहादुर तामाङले आफ्नै श्रीमतीको हत्या गरेका थिए।

कारागार व्यवस्थापन विभागका अनुसार, २४ भदौको तोडफोड र आगजनीका क्रममा देशभर करिब १५ हजार कैदीबन्दी फरार भएका थिए।

हाल पनि करिब साढे पाँच हजार कैदीबन्दी फरार रहेको तथ्यांक विभागले जनाएको छ।