काठमाडौं — इजरायलले हालसम्म गाजामा रहेका ४८ जना बन्धकमध्ये कम्तीमा २२ जना अझै जीवित रहेको विश्वास जनाएको छ। वासिङ्टन पोस्टले प्रकाशित रिपोर्टअनुसार जीवित रहेको अनुमान गरिएका ती व्यक्तिहरूको सूचीमा नेपालका विपिन जोशीको नाम पनि समावेश छ।

जीवित रहेको अनुमान गरिएका बन्धकमध्ये इजरायली सैनिक, विद्यार्थी र अन्य नागरिकहरू रहेका छन्। तीमध्ये नेपालका कृषि विद्यार्थी विपिन जोशी पनि एक हुन्, जो गत वर्ष हमासले आक्रमण गर्दा अपहरणमा परेका थिए।

गाजा युद्धविराम सम्झौताअन्तर्गत बाँकी बन्धकहरू अबको ७२ घण्टाभित्र रिहा हुने अपेक्षा गरिएको छ। बन्धकहरूको रिहाइको सट्टामा इजरायलले करिब २ हजार प्यालेस्टिनी बन्दीहरूलाई मुक्त गर्ने तयारी गरेको बताइएको छ।

इजरायलमा बन्धक परिवारहरूले आफ्ना प्रियजनहरूको सुरक्षित रिहाइका लागि निरन्तर दबाब दिइरहेका छन्। रिपोर्टअनुसार, अक्टोबर ७ का घटनामा कम्तीमा २५ जना बन्धकको मृत्यु भएको पुष्टि भइसकेको छ। बाँकीमध्ये कति जीवित छन् भन्ने प्रष्ट छैन, तर इजरायली अधिकारीहरूले २२ जना अझै सकुशल रहेको विश्वास व्यक्त गरेका छन्।

नेपालको परराष्ट्र मन्त्रालयले पनि यसअघि विपिन जोशी सकुशल रहेको र उनको चाँडै रिहाइमा आशा व्यक्त गरेको थियो।