काठमाडौं — प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग गरी चन्दा संकलन गर्ने वा त्यसमा संलग्न हुने गतिविधिलाई कानुनी कारबाहीमा ल्याइने चेतावनी दिएको छ।
हाल केही व्यक्ति वा समूहले प्रधानमन्त्री कार्की र प्रधानमन्त्री कार्यालयको हवाला दिँदै विभिन्न परियोजना, कोष वा सामाजिक कार्यका नाममा चन्दा सहयोग मागिरहेको जानकारी प्राप्त भएपछि कार्यालयको ध्यानाकर्षण भएको जनाइएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव एवं प्रवक्ता रविलाल शर्माका अनुसार, प्रधानमन्त्री वा कार्यालयका तर्फबाट कुनै पनि व्यक्तिलाई चन्दा संकलन गर्न वा सहयोग माग्न अनुमति दिइएको छैन।
प्रवक्ता शर्माले विज्ञप्तिमार्फत यस्तो भ्रामक गतिविधिमा विश्वास नगर्न र कसैले यस्तो आग्रह गरेमा पूर्ण रूपमा अस्वीकार गर्न आग्रह गरेका छन्।
त्यसैगरी, प्रधानमन्त्रीको नाम प्रयोग गरेर चन्दा संकलन गर्ने वा त्यस्तो कार्यलाई प्रोत्साहन गर्ने व्यक्ति वा समूह फेला परेमा स्थानीय प्रहरीलाई जानकारी दिन समेत विज्ञप्तिमा अनुरोध गरिएको छ।




















