नयाँ दिल्ली —भारतको राजधानी दिल्लीको घातक वायु प्रदूषण घटाउने उद्देश्यले गरिएको कृत्रिम वर्षा (क्लाउड सिडिङ) को प्रयास अहिलेसम्म असफल भएको छ। भारतीय प्राविधिक संस्थान (आईआईटी) कानपुरको सहयोगमा गरिएको लगातार परीक्षणपछि पनि दिल्लीका धेरै क्षेत्रमा वर्षा नहुँदा तत्काल राहतको अपेक्षा कमजोर देखिएको छ।
बुधबार बिहान ५ बजे केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (CPCB) का अनुसार, दिल्लीको आइटीओ क्षेत्रमा वायु गुणस्तर सूचकांक (AQI) ३०७ पुगेको छ, जुन ‘अति खराब’ श्रेणीमा पर्दछ। बिहानसम्म दिल्लीमा कुनै स्थानमा वर्षा नभएको पुष्टि भएको छ।
अपेक्षित परिणाम नआएपछि निराशा
वायु प्रदूषणको बढ्दो स्तरलाई ध्यानमा राख्दै दिल्ली सरकारले क्लाउड सिडिङ प्रविधिको प्रयोग गर्ने निर्णय गरेको थियो। यस प्रविधामा सिल्वर आयोडाइड, सोडियम क्लोराइड वा क्याल्सियम क्लोराइडजस्ता रसायन विमानमार्फत बादलमा छर्किन्छन्, जसले जलवाष्पलाई संघनन गराई वर्षा हुने सम्भावना बढाउँछ।
पहिलो परीक्षण अक्टोबर २३ मा र दोस्रो परीक्षण अक्टोबर २८ मा गरिएको थियो। आज (अक्टोबर २९) पनि आईआईटी कानपुरका विज्ञहरूले सेना विमान प्रयोग गरी बुराडी, करोलबाग र खेकरा लगायत क्षेत्रहरूमा क्लाउड सिडिङको थप परीक्षण गर्ने तयारी गरेका छन्।
पर्यावरण मन्त्री मनजिन्दर सिंह सिरसाका अनुसार, यी प्रयासहरूको उद्देश्य विभिन्न आर्द्रता स्तरमा कृत्रिम वर्षाको सम्भावना मूल्यांकन गर्नु हो।
मौसमका कारण असफलता
विज्ञहरूका अनुसार कृत्रिम वर्षा सफल हुनका लागि बादलमा कम्तीमा ४०–५० प्रतिशत नमी हुनु आवश्यक हुन्छ। तर दिल्लीमा अहिले करिब १०,००० फिट उचाइमा बादल बन्नु र आर्द्रता केवल १५–२० प्रतिशत मात्र रहनुका कारण वर्षा सम्भव भएन।
मौसम विज्ञ महेश पलावतले भने, “हालको मौसमीय अवस्था क्लाउड सिडिङका लागि अनुकूल छैन, कारण बादलमा पर्याप्त नमी छैन।”
लागत र आगामी योजना
दिल्ली क्याबिनेटले यस वर्ष मे महिनामा ३.२१ करोड रुपैयाँको लागतमा पाँचवटा क्लाउड सिडिङ परीक्षण स्वीकृत गरेको थियो। प्रत्येक परीक्षणमा करिब ६४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
हालका प्रारम्भिक प्रयास वर्षा गराउन सफल नभए पनि मन्त्री सिरसाले यसलाई ‘सफल प्रयास’ भनेका छन्, किनभने यसले विभिन्न आर्द्रता स्तरमा प्रयोगको प्रभाव बुझ्न मद्दत गरेको छ। आगामी फेब्रुअरी २०२६ सम्म थप परीक्षण गर्ने योजना पनि सरकारको रहेको छ।
राजनीतिक प्रतिक्रिया
आम आदमी पार्टीका प्रदेश अध्यक्ष सौरभ भारद्वाजले केन्द्र सरकारमाथि आरोप लगाउँदै भने, “भाजपा सरकारले कृत्रिम वर्षा गर्ने नाममा एकपछि अर्को ढोंग गर्दै आएको छ। करोलबाग, बुराडी र मयूर विहारमा वर्षा गराइने भनिए पनि त्यहाँ एक थोपा पनि पानी परेन।”
के हो क्लाउड सिडिङ?
क्लाउड सिडिङ भनेको वैज्ञानिक प्रविधि हो जसमा विमानबाट रासायनिक पदार्थ (जस्तै सिल्वर आयोडाइड वा सोडियम क्लोराइड) बादलभित्र छर्किन्छ। यी कणहरूले जलकण बन्ने प्रक्रिया तीव्र पार्छन् र पर्याप्त नमी भएको अवस्थामा वर्षा गराउँछन्।
यस प्रविधिको सफलता मौसमको अवस्थासँग प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छ — विशेष गरी बादलको उचाइ, नमी, तापक्रम र हावाको दिशासँग।
दिल्लीले प्रदूषणसँगको युद्धमा विज्ञानको सहारा त लिएको छ, तर मौसमको अनुकूलता नहुँदा ‘कृत्रिम वर्षा’ हालसम्म सफल हुन सकेको छैन।



















