काठमाडौं—जेनजी आन्दोलनको क्रममा सुरक्षाकर्मीको पेस्तोल लुटेर बिक्री गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा जिल्ला धादिङका कृष्ण लामा, काठमाडौं महानगरपालिका-१५ का दिनेश देवल, भारत मोतिहारीका अंकुर खान, काठमाडौंका सुमिन शाक्य र प्रवात मल्ल रहेका छन् ।
सुरक्षाकर्मीको हातहतियार लुटपाट गरी र बिक्री वितरण गर्दै आएको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शुक्रबार काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ परेकाबाट सीएफ९८-९ पेस्तोल एक थान, पेस्तोलमा लाग्ने गोली १५ राउन्ड तथा अन्य सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरू काठमाडौं महानगरपालिकाका विभिन्न स्थानमा हातहतियारसहित पेस्तोल लुटपाट र बिक्री वितरणमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरू विरुद्ध हातहतियार तथा खरखजनाको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।



















