काठमाडौं — उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कायमै राख्ने आदेश जारी गरेको छ।

न्यायाधीश डालकुमार खड्कादीपक खनालको संयुक्त इजलासले बुधबार दिएको आदेशमा, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई निलम्बन गर्ने निर्णय कानूनसम्मत रहेको ठहर गरिएको हो।

यससँगै, पाण्डेले दायर गरेको रिट निवेदन अदालतले खारेज गरेको छ र उनी पुनः पदमुक्त भएका छन्।

काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाह (बालेन) र प्रमुख प्रशासकीय अधिकृत गुरागाईंबीच लामो समयदेखि अधिकार विवाद चल्दै आएको थियो। मेयर शाहले गुरागाईंमाथि आफ्नो आदेश नमानेको र अनियमितता गरेको आरोप लगाउँदै कार्यकक्ष प्रवेशमा रोक लगाएका थिए।

पछि उपमेयर सुनिता डंगोल, वडाध्यक्षहरू र कर्मचारीको सहयोगमा गुरागाईं कार्यकक्षमा प्रवेश गर्दा नगर प्रहरीले अवरोध गरेको थियो। सो घटनापछि गुरागाईंले पदीय आचरणविपरीत काम गरेको आरोप लगाउँदै नगर प्रहरी प्रमुख पाण्डेलाई निलम्बन गरेका थिए।

पाण्डेले आफूलाई गैरकानूनी रूपमा पदबाट हटाइएको भन्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। प्रारम्भिक चरणमा अदालतले उनलाई अन्तरिम आदेशमार्फत काममा फर्कन अनुमति दिएको थियो, तर अन्ततः बुधबारको आदेशले निलम्बन कायम रहने ठहर गरेको हो।