काठमाडौँ —काठमाडौँ — काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको प्रत्यक्ष समर्थनमा नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा हाल सहरी विकास मन्त्री कुलमान घिसिङले नयाँ राजनीतिक दल दर्ता गर्ने तयारी गरेका छन्।
स्रोतका अनुसार, घिसिङ अध्यक्ष रहेर निर्वाचन आयोगमा दल दर्ताको प्रक्रिया अघि बढाउने निर्णय भएको छ। स्रोतका अनुसार रास्वपा छाडेकी सुमना श्रेष्ठ र सुधन गुरुङसहितका युवा नेताहरू समेत नयाँ दलमा सहभागी हुने भएका छन्।
पार्टीले आउँदो फागुन २१ गतेका लागि घोषणा गरिएको आमनिर्वाचनमा भाग लिने तयारी गरेको छ। घिसिङलाई भावी प्रधानमन्त्रीको विकल्पका रूपमा प्रस्तुत गर्दै पार्टीलाई अध्यक्षीय प्रणालीमा अघि बढाइने भएको छ। पार्टीको नाम र चुनाव चिन्ह भने हालसम्म गोप्य राखिएको छ।
पार्टीको संरचना अन्तर्गत १५१ सदस्यीय केन्द्रीय समिति गठन गरिने तयारी भइरहेको छ। मेयर बालेन शाह भने प्रतिनिधि सभा चुनावमा नउठ्ने र हालकै रूपमा महानगरको नेतृत्वमा रहने सहमति बनेको स्रोतले जनाएको छ।
रास्वपा परित्याग गरेकी सुमना श्रेष्ठले केही समयदेखि वैकल्पिक राजनीतिक शक्ति निर्माणको पहल गर्दै आएकी थिइन्। प्रधानमन्त्री सुशिला कार्कीको प्रमुख सल्लाहकार बन्ने प्रस्ताव अस्वीकार गर्दै उनले नयाँ राजनीतिक दल निर्माणमा ध्यान केन्द्रित गरेकी हुन्।
यो नयाँ दललाई “जेन–जेडको पार्टी” का रूपमा प्रस्तुत गर्ने तयारी गरिएको छ, जसले युवा पुस्ताको प्रतिनिधित्व, प्रविधि–आधारित शासन र पारदर्शी नेतृत्वलाई मुख्य एजेन्डा बनाउने बताइएको छ।




















