काठमाडौं—दलित अधिकारका अभियन्ता खगेन्द्र सुनार राजनीतिक दल गठनको तयारीमा रहेका छन्। उनले पार्टीको नाम, झन्डा, चुनाव चिह्न र एजेन्डा कस्तो राख्दा उपयुक्त हुन्छ भन्ने विषयमा सामाजिक सञ्जालमार्फत सुझाव मागेका छन्।

सुनारले सामाजिक सञ्जालमा भनेका छन्, “हामी राजनीतिक पार्टी निर्माणको तयारीमा जुटिरहेका छौँ। पार्टीको नाम, चुनाव चिह्न, झन्डा, एजेन्डा के कस्तो राख्दा ठिक होला भन्ने बारे तपाईँको सुझाव चाहिन्छ। साथै, पार्टीमा आबद्ध हुन चाहने साथीहरू सम्पर्कमा आउनुहोस्।”

सुनारको नामअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने चर्चा भएको थियो। तर, विवाद उत्पन्न भएपछि प्रधानमन्त्री सुशीला कार्कीले उनलाई उक्त पदको सूचीबाट हटाएकी थिइन्।

सुनारको राजनीतिक पार्टी गठनले दलित समुदाय र सामाजिक समावेशीताका मुद्दामा नयाँ राजनीतिक विकल्पको संभावना देखाएको छ।