पाँचथर — पाँचथरको हिलिहाङ गाउँपालिका–१ फेदापामा एक दुखद घटनामा ३१ वर्षीय सन्देश राईले आफ्नै बाबु ६९ वर्षीय युवराज राईको हत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मृतक युवराज आइतबार बिहान करिब १०ः३० बजे घरदेखि करिब ५ सय मिटर उत्तरतर्फ रहेको करेसाबारीमा मृत अवस्थामा फेला परेका थिए। घटनास्थलमा उनका शरीरमा विभिन्न चोटपटक देखिएका थिए, जसपछि प्रहरीले अनुसन्धान थालेको थियो।
प्रारम्भिक अनुसन्धानमा युवराजका कान्छा छोरा सन्देशले बाबुको हत्या गरेको स्वीकार गरेका छन्। प्रहरीले उनलाई नियन्त्रणमा लिएर घटनाका अन्य पाटोबारे अनुसन्धान अघि बढाएको जनाएको छ।
मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल फिदिम पठाइएको छ। घटनाको कारण अझै स्पष्ट भइसकेको छैन र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



















