काठमाडौँ — देशभक्त समाजवादी मोर्चाका नेता गोपाल किराती फेरि माओवादीमा फर्किएका छन्। २०७४ सालमा माओवादी अध्यक्ष पुष्पकमल दाहालको पहिचानसम्बन्धी निर्णयप्रति असन्तुष्ट हुँदा किराती माओवादीबाट अलग भएका थिए।
किरातीले पहिले माओवादीलाई 'खाओवादी' भन्दै आफ्नो असन्तुष्टि सार्वजनिक गर्ने गरेका थिए। तर पछिल्ला राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै उनी फेरि माओवादीमा फर्किएका हुन्। माओवादी अध्यक्ष दाहालसँग तीन बुँदे सहमति गर्दै उनी आफ्नो पुरानो पार्टीमा पुन: समाहित भएका हुन्।
सहमति अनुसार, नेपाली राजनीतिमा उत्पन्न जोखिम र चुनौतीका कारण क्रान्तिकारीहरूबीच एकता र ध्रुवीकरण आवश्यक रहेको विषयमा दाहाल र किरातीले सहमति जनाएका छन्। साथै विगतमा भएका वैचारिक, राजनीतिक र सांगठनिक कमजोरीहरूबारे कार्यटोली बनाएर वस्तुनिष्ठ समीक्षा र दस्तावेजीकरण गर्ने कुरा पनि सहमतिमा समावेश गरिएको छ।
यस्तो छ किरातीको तीन बुँदे सहमति
१. विगतमा भए गरेका वैचारिक-राजनीतिक एवं सांगठनिक गल्ती कमजोरीहरुका सम्बन्धमा कार्यटोली बनाई वस्तुनिष्ठ समिक्षाको दस्तावेजीकरण गर्ने । जसको मार्गदर्शनमा जनवर्गको तहबाटै एकता-संघर्ष-रुपान्तरण, मुख्यतः रुपान्तरण र नयाँ आधारमा नयाँ एकता सृष्टि गर्दै नेपाली क्रान्तिको समाजवादी कार्यभार उठान गर्न सामर्थ्य आर्जन गर्ने ।
२. कमरेड गोपाल किरातीद्धारा विकसित देशभक्तिपूर्ण पहिचानसहितको समाजवादी लोकतन्त्रवारे पार्टीमा व्यवस्थित छलफल गर्दै पूर्ण जनवादका आधारमा निर्णय लिने ।
३. उपरोक्त सहमति कार्यान्वयन गर्न देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किराती नेतृत्वमा मार्क्सवादी क्रान्तिकारीहरु नेकपा (माओवादी केन्द्र) मा ध्रुवीकृत हुने ।
अन्त्यमा, स्वदेश तथा विदेशमा संघर्षरत नेपाली वर्ग (मजदुर, किसान, सुकुम्बासी, वित्तीय शोषणपीडित तथा विस्थापितवर्ग), लिङ्ग, जातजाति, क्षेत्र एवं देशभक्तहरु र पहिचानसहित प्राकृतिक तथा सांस्कृतिक सम्पदा रक्षा आन्दोलनबीच समाजवादी ध्रुवीकरण बढाएर नेपालको राष्ट्रिय स्वाधीनता, अखण्डता, सम्प्रभुता सुदृढीकरणमा पहलकदमी लिँदै नेपाली जनतामा निहित सार्वभौमसत्ता र राजकीयसत्ताको कठोरतापूर्वक रक्षा र अभ्यास मार्फत संविधानको समाजवाद उन्मुख राज्य-व्यवस्था कार्यान्वयनमा प्रभावकारी पहलद्वारा दलाल तथा नोकरशाही पूँजीवादी भ्रष्ट शासन अन्त्य गरिछाड्ने संकल्पमा जुट्न जेड पुस्ताका युवाहरुसहित सबैसँग आह्वान गर्दछौं ।




















