काठमाडौं — नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मंसिर २९ गते काठमाडौंमा नेपालको इतिहासकै सबैभन्दा ठूलो जनसभा गर्ने घोषणा गरेका छन्।
प्रेस चौतारी नेपालको केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महासचिव पोखरेलले एमालेले महाधिवेशनअघि जनतामाझ शक्ति प्रदर्शन गर्न लागेको जानकारी दिए।
उनका अनुसार, ‘जनता दलबाट अलग भइसके भन्ने भाष्य गलत सावित गर्न एमालेले देशभर जनभेला गर्ने तयारी गरेको’ छ।
पोखरेलले भने,“मंसिर २७ देखि २९ गतेसम्म हामीले ११ औँ महाधिवेशन गर्दैछौँ। त्यसअघि २२ गते देशभर वडास्तरमा, २५ गते पालिकास्तरमा, २९ गते जिल्लास्तरमा र मंसिर ६ गते उपत्यका स्तरीय सभा गर्छौँ। अन्त्यमा मंसिर २९ गते काठमाडौंमा इतिहासकै ठूलो जनसभा गरेर जनताको साथ एमालेसँगै रहेको देखाउँछौँ।”
उनले हिंसा, लुटपाट र अराजकताप्रति जनता कहिल्यै पनि साथ नदिने स्पष्ट पार्दै एमाले जनताको भरोसाको पार्टी भएको दाबी गरे।




















