काठमाडौं— नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्थानहद तोकेर कुनै पनि हालतमा चुनाव हुन नसक्ने स्पष्ट बताएका छन्।
प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै महासचिव पोखरेलले संविधान, जनमत र जनादेशले नचिन्ने सरकारले प्रतिनिधि सभा विघटन गरेको भन्दै त्यसलाई सर्वोच्च अदालतले मान्यता नदिने विश्वास व्यक्त गरे।
उनले भने,“अदालतमा मुद्दा विचाराधीन रहँदा सरकारले काम गर्न मिल्दैन। संवैधानिक परीक्षणमा यो सरकार खरो साबित हुन सक्दैन।”
पोखरेलले भदौ २३ र २४ गतेका घटनाबारे टिप्पणी गर्दै ती आन्दोलनहरू अग्रगमन होइन, पश्चगमनका उदाहरण भएको बताए।
“२३ र २४ गतेको घटनापछि मुलुक प्रतिगमन तर्फ उन्मुख छ। जननिर्वाचित प्रतिनिधि सभा भङ्ग गरिएको छ, जनताले लामो संघर्ष र बलिदानले ल्याएको संविधान घाइते भएको छ,” उनले भने।
महासचिव पोखरेलले हालको सरकारलाई ६ महिनाभित्र निर्वाचन गर्ने म्यान्डेट दिइएको भए पनि, त्यस दिशामा कुनै ठोस तयारी नभएको आरोप लगाए।
उनले भने,“जनताको रोजाइको पहिलो पार्टी एमालेका अध्यक्षलाई स्थानहद तोकेर चुनाव गराउने कुरा काल्पनिक हो। यस्तो भ्रम सिर्जना गरेर देशमा लोकतन्त्र कमजोर पार्ने प्रयास भइरहेको छ।”
पोखरेलले प्रहरीको मनोबल कमजोर भएको उल्लेख गर्दै भने,“आज सबैभन्दा बढी प्रहरीको मनोबल गिरेको छ। प्रहरीको मनोबल नउठी चुनाव सम्भव छैन। राज्यमाथि नियोजित आक्रमण गर्नेहरूलाई कारबाही नगरी राज्य बलियो बन्न सक्दैन।”
उनले आन्दोलनको नाममा जेल खाली गर्ने र अपराधीहरूलाई उन्मुक्ति दिने षड्यन्त्र भइरहेको दाबी पनि गरे।
“जेलबाट भागेका मानिसहरूले दैनिक रूपमा कुनै न कुनै घटना गराइरहेका छन्। ती सबैलाई पुनः नियन्त्रणमा ल्याउने र लुटिएका हतियार फिर्ता ल्याउने काम सरकारको प्रमुख दायित्व हो,” पोखरेलले भने।
महासचिव पोखरेलले अन्त्यमा भने,“एमाले संविधान, जनादेश र राष्ट्रिय स्वाभिमानको पक्षमा दृढ छ। जनताले दिएको अधिकारको रक्षा गर्न हामी कुनै हालतमा पछि हट्ने छैनौं।”




















