दोलखा — दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित ना गाउँ र एलुङ रि क्षेत्रमा सोमबार बिहान आएको भीषण हिमपहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। सो घटनामा आठ जना पर्यटक बेपत्ता भएका छन्।
दोलखाका प्रहरी प्रमुख डीएसपी ज्ञानकुमार महतोका अनुसार मृत्यु हुनेमध्ये एक जना नेपाली र दुई जना विदेशी नागरिक रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घाइते चार जनामध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
उनका अनुसार सोमबार बिहान करिब ९ बजे ना गाउँबाट ६ हजार ३३३ मिटर अग्लो डोल्मा थाङतर्फ गएका १५ जनामध्ये बिहान साढे १० बजे हिमपहिरोमा परेको पुष्टि भएको हो। हालसम्म चार जनासँग मात्रै सम्पर्क हुन सकेको छ भने अन्य आठ जना अझै बेपत्ता छन्।
स्थानीय जोसेफ फुर्वा शेर्पाका अनुसार करिब ५ हजार ६ सय मिटर उचाइमा रहेको एलुङ रि माउन्टेन क्षेत्र आसपास ठूलो हिमपहिरो खसेको थियो। उक्त स्थान लामाबगरबाट करिब ८ घण्टाको पैदल दुरीमा पर्छ र त्यहाँ हेलिकोप्टर पुग्न कठिन रहेको जनाइएको छ।
सुरक्षाकर्मी र स्थानीयको टोलीले बेपत्ताको खोजी कार्य सुरु गरेको प्रहरीले जनाएको छ।



















