उदयपुर — नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले भयरहित वातावरण नबनेसम्म पार्टी निर्वाचनमा भाग लिँदैन भनी स्पष्ट पारेका छन्।
सोमबार एमाले जिल्ला कमिटी उदयपुरले आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा ज्ञवालीले २०८२ भदौ २३–२४ को घटनापछि मुलुक ठुलो अस्थिरतामा रहेको र यस परिस्थितिमा चुनाव कसरी भयरहित हुन सक्छ भन्ने प्रश्न उठाएका छन्। उहाँले भने, “जेलबाट भागेका झन्डै साढे ५ हजार कैदीबन्दी अझै बाहिर छन्, सुरक्षा कर्मीका आधा भन्दा बढी हतियार बाहिर छन्। यस्तो अवस्थामा जनता कसरी सुरक्षित महशुस गरी मतदानमा सहभागी हुन सक्छन्?”
ज्ञवालीले एमालेको मूल मन्त्र जनताको बहुदलीय जनवाद रहेको, पार्टीले पंचायत, राणा शासन र निरंकुश राजतन्त्रको बिरुद्ध लडेको र चुनावमा नजाने निर्णय भइसकेको स्पष्ट पारेका छन्। उहाँले संसद पुनर्स्थापना र संविधान संशोधनमार्फत समस्याको समाधान खोज्नुपर्ने पक्षमा रहेको पनि बताए।
उपमहासचिव ज्ञवालीले भदौ २३–२४ को घटनाको सत्यतथ्य छानबिनका लागि हालको छानबिन समिति असक्षम रहेको र सर्वोच्च अदालतका पूर्वन्यायाधीश सम्मिलित निस्पक्ष आयोग गठन गर्नुपर्ने माग राखेका छन्।
भेलामा नेकपा एमाले उदयपुरले पार्टी नेताहरूको सम्पत्ति छानबिन गर्ने, जलेका पार्टी कार्यालय पुनर्निर्माण गर्ने र “म बनाउँछु पार्टी कार्यालय अभियान” सञ्चालन गर्ने निर्णय गरेको छ। झन्डै ५ सय भन्दा बढी नेता तथा कार्यकर्ताको उपस्थितिमा सम्पन्न भेलामा नेकपा एकीकृत समाजवादीका केही नेता पुनः एमालेमा फर्किएका थिए।
ज्ञवालीले एमाले अब जनताको घरघरमा पुगेर जनभावना अनुसार अघि बढ्ने योजना बनाएको पनि जानकारी दिएका छन्।























