काठमाडौं — नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आगामी ११औँ महाधिवेशनमा पुनः अध्यक्ष पदका लागि उम्मेदवारी नदिन आग्रह गरेका छन्। उनले ओलीले अब स्वेच्छिक अवकाश लिएर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका छन्।

एक युट्युब अन्तर्वार्तामा बोल्दै भट्टराईले भने, “हाम्रो पार्टी अध्यक्ष पनि स्वेच्छिक अवकाश लिने ठाउँमा पुग्नुभयो। अब एघारौँ महाधिवेशनमा उम्मेदवारी दिनुभयो भने चौथोपटक उहाँको उम्मेदवारी हुन्छ। दिनुभएन भने तेस्रोपटक हुन्छ। उहाँले आफैँले स्थापित गरेका मूल्य–मान्यताहरू छन् — ७० वर्षे उमेर सीमा, दुई कार्यकाल, एउटै क्लासमा पटकपटक परीक्षा नदिने। ती त उहाँकै आदर्श भनाइ हुन्।”

भट्टराईले ओलीलाई आफ्नै आदर्श र मान्यतामा उभिन आग्रह गर्दै भने, “प्लिज, तपाईंका आफ्ना मान्यताहरूमा उभिनूस् र त्यसलाई फलो गर्नूस्। त्यसो भयो भने लाखौँ, करोडौँ फलोअर्स तपाईंका बढ्छन्। तपाईंको फेसबुक पेजमा त एकै दिन दुईतीन लाख फलोअर्स बढ्नेछ, र हरेक घरमा तपाईंको पूजा हुनेछ।”

तर, उनले चेतावनीस्वरूप थपे, “यदि हामीसँग प्रतिस्पर्धा गर्न अध्यक्ष उत्रिनुभयो भने मलाई लाग्छ—जित्ने हार्ने आफ्नो ठाउँमा छ, तर त्यो उहाँको ‘महापराजय’ हुनेछ। म उहाँको पराजय नहोस् भन्ने चाहन्छु, उहाँ जितेरै जानूस्।”

एमालेले ११औँ महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरिसकेको छ।
जेनजी आन्दोलनयता सचिव भट्टराईले पार्टीमा नयाँ पुस्ताको भूमिकाबारे निरन्तर आवाज उठाउँदै आएका छन्। उनले ओली नेतृत्वमा पार्टीले ठूला उपलब्धि हासिल गरे पनि अब नेतृत्व पुस्ता परिवर्तन अपरिहार्य भएको बताउँदै आएका छन्।