काठमाडौं — रास्वपा सभापति रवि लामिछानेले भदौ २४ गते नख्खु कारागारबाट आफू भागेको नभई प्रशासनको निर्णयअनुसार बाहिर निस्कनुपरेको बताएका छन्। जेनजी आन्दोलनका क्रममा भएको घटनाको जाँचबुझ गर्न गठन गरिएको आयोगले सोमबार नख्खु कारागारमै भेट्दा लामिछानेले उक्त कुरा बताएका हुन्।
आयोगका पदाधिकारीहरूले ‘तपाईं किन र कसरी यहाँबाट निस्कनुभयो?’ भन्ने प्रश्न गर्दा लामिछानेले जवाफमा भने, “आफ्नै इच्छाले जेलबाट बाहिरिएको होइन। तत्कालीन गृह मन्त्रालय र प्रहरी नेतृत्वले समग्र सुरक्षा चुनौती देखेर मलाई बाहिर पठाएको हो। पछि यो काम अनुचित भन्ने प्रतिक्रिया आएपछि म आफैं फर्किएँ, मलाई प्रहरीले समातेर ल्याएको होइन।”
जाँचबुझ आयोगका प्रवक्ता तथा प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्माले भने, “घटनाहरूको सूचना संकलनको सिलसिलामा कतिपय व्यक्तिसँग औपचारिक र कतिपयसँग अनौपचारिक भेट हुन सक्छ। लामिछानेसँग हाम्रो भेट सामान्य कुराकानी मात्र थियो।”
स्रोतका अनुसार आयोगको टोलीले लामिछानेसँग जेलबाट बाहिर पठाउने प्रक्रियामा संलग्न व्यक्तिहरू र उनको भूमिका स्पष्ट पार्न भेट गरेको हो। यसअघि कल डिटेल्स रेकर्ड तथा लिंक चार्टको आधारमा रवि जेलबाट बाहिर निस्कने घटनामा संलग्न अन्य व्यक्तिहरू पनि पहिचान भएका थिए।
त्यस्तै, रवि लामिछानेलाई जेलबाट बाहिर पठाउने मामलामा उनकी पत्नी निकिता पौडेल, पार्टीका उपसभापति डीपी अर्याल, प्रहरी नेतृत्व र प्रशासनिक जिम्मेवार व्यक्तिहरूको संलग्नताको विषयमा स्थानहद जारी भइसकेको छ र आगामी सोधपुछमा उनीहरूलाई पनि समेटिने तयारी छ।




















