काठमाडौं — हिंसा भड्काउने र सार्वजनिक शिष्टाचार विरुद्धको अपराध गरेको आरोपमा प्रहरीले डा. निकोलस भुसाललाई गोरखा–८ स्थित सरस्वती आश्रमबाट मंगलबार पक्राउ गरेको छ।
प्रहरी स्रोतका अनुसार, उनलाई जरुरी पक्राउ पुर्जीका आधारमा पक्राउ गरिएको हो। भुसाल पछिल्ला दिनमा सञ्चार सम्पर्क विच्छेद गरेर बसेका थिए भने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन दिनदेखि उनको खोजी गर्दै आएको थियो। उनलाई काठमाडौं ल्याएर जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइने तयारी भइरहेको छ।
भुसालले केही दिनअघि सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालको घर घेर्ने पोष्ट गरेको थिए। उनको भड्काउपूर्ण अभिव्यक्तिपछि भक्तपुरस्थित ओलीको निवासमा सुरक्षा सतर्कता बढाइएको थियो।
यसअघि भुसाललाई असोज २३ गते माइतीघरमा प्रदर्शन गर्न खोज्दा पक्राउ गरिएको थियो। स्वास्थ्य जाँचमा गाँजा सेवन गरेको देखिएपछि उनलाई सुधार केन्द्रमा लैजान सर्तमा उनका दाजु जिम्मा लगाइएको थियो, तर सुधार केन्द्रमा उनलाई जिम्मा दिइएको थिएन।
कात्तिक १६ गते माइतीघर मण्डलामा प्रदर्शन गर्ने घोषणा गरे पनि उनले त्यस दिन सहभागी नभई सम्पर्कविहीन भएका थिए। उनका प्रदर्शन गर्ने खबरपछि एमालेसम्बद्ध युवा संघ र मेयर बालेन शाहका समर्थकले पनि प्रतिकार योजना बनाएका थिए।
भुसाल यसअघि २०८१ पुस ७ गते पनि पक्राउ परेका थिए। कास्की प्रहरीले हिरासतमा राख्दा रास्वपा सभापति रवि लामिछानेको हिरासतभित्रको फोटो सार्वजनिक गरेकाले उनलाई मुद्दामा समावेश गरेको थियो।



















