काठमाडौं — नेकपा (एकीकृत समाजवादी) भित्र आन्तरिक मतभेद चर्किँदै गएपछि स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री–किशान श्रेष्ठ समूहले छुट्टै पत्रकार सम्मेलन आयोजना गर्न लागेक छन ।
सामाजिक सञ्जालमार्फत जानकारी दिँदै झाँक्रीले भोलि (कार्तिक १९ गते) बिहान १० बजे बबरमहलस्थित होटल बसेरामा पत्रकार सम्मेलन गर्ने बताएकी छिन ।
समूहले जनाएको छ, “नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्दै राष्ट्रियता, प्रजातन्त्र, सामाजिक न्याय, विकास र समृद्धिको दिशामा अघि बढ्न” समान वैचारिक र सैद्धान्तिक दृष्टिकोण भएका राजनीतिक शक्तिहरूबीच एकता आवश्यक रहेको छ। लामो समयदेखि निरन्तर अभियान चलाउँदै आए पनि अपेक्षित निष्कर्षमा नपुगेकाले अहिलेको परिस्थितिमा ‘कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्दै विकास र समृद्धिको मार्गमा अघि बढ्ने बाटो कस्तो हुन्छ?’ भन्ने विषयमा छलफल गर्न पत्रकार सम्मेलन आयोजना गरिएको हो।
यसैबीच, नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले पनि भोलि (कार्तिक १९ गते) त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको चौथो तलाको पृथ्वी हलमा छुट्टै पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन्।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र) लगायत आठ वाम समूहसँग पार्टी एकता गर्ने निर्णय गरेपछि पार्टीभित्र छुट्टाछुट्टै बैठक र कार्यक्रम भइरहेको छ।
झाँक्री समूह नेकपा एमालेमा प्रवेश गर्न लागेको सामाजिक सञ्जालमा चर्चामा रहेको जनकारी पाइएको छ ।



















