काठमाडौं — नेकपा (एमाले) ले आफ्नो ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न सातवटा आधार तोकेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मार्फत ती आधारहरू मातहतका सबै कमिटीमा पठाइएको हो।

एमालेको ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने तय भएको छ। यसअघि सचिवालय बैठकले मंसिर १३ गते देशभर एकैपटक प्रतिनिधि छनोट गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको थियो।

अपानि अनुसार प्रतिनिधि छनोट गर्दा केन्द्रीय संगठन विभागले प्रमाणित गरेको पार्टी सदस्यता विवरणका आधारमा गर्नुपर्नेछ। पार्टी सदस्यता भूगोल परिवर्तन गर्न चाहनेहरूले कात्तिक मसान्तभित्र सदस्यता स्थानान्तरण सकाइसक्नुपर्ने व्यवस्था गरिएको छ।

पदेन प्रतिनिधि रहेका आयोजकहरू भने प्रतिनिधि छनोट प्रक्रियामा सहभागी हुन नपाउने अपानिमा उल्लेख गरिएको छ। बाँकी सबै सदस्यले तोकिएको एउटै क्लस्टरमा सहभागी भएर मात्र प्रतिनिधि छनोटमा भाग लिन पाउने छन्।

दलित र श्रमिक क्लस्टरका सदस्यहरूको विवरण जिल्ला र प्रदेश कमिटीले एक हप्ता अघि नै सार्वजनिक गर्नुपर्ने निर्देशन पार्टीले दिएको छ। यस्तै, जनसंगठनमा आवद्ध हुन चाहने सदस्यले भूगोल वा विशेष कमिटीबाट अलग हुनुपर्ने व्यवस्था गरिएको छ।

यदि प्रतिनिधि छनोट प्रक्रियामा विवाद वा अस्पष्टता उत्पन्न भएमा त्यसको समाधानका लागि केन्द्रीय संगठन विभागमा सम्पर्क गर्न भनिएको छ। तर विवादका नाममा आवश्यकभन्दा बढी प्रतिनिधि पठाए त्यसलाई मान्यता नदिइने पनि स्पष्ट गरिएको छ।

अपानि मातहतका कमिटीमा पठाउने कार्य जारी रहेको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार अपानि प्राप्त भएपछि जिल्ला कमिटीहरूले संघीय निर्वाचन क्षेत्रअनुसार प्रतिनिधि छनोटको व्यवस्था गर्नेछन्।

एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य, केन्द्रीय निकाय, भूगोल, विभिन्न क्लस्टर र मनोनितसहित करिब २ हजार १ सय २७ जना प्रतिनिधि सहभागी हुनेछन्।

छनोट भएका प्रतिनिधिले आफ्नो फोटोसहितको विवरण संगठन विभागले पठाएको ढाँचामा भरेर केन्द्रीय कार्यालयमा पठाउनुपर्ने अपानिमा उल्लेख गरिएको छ।