काठमाडौं — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोक राईलाई पार्टी एकता प्रक्रियामा आउन प्रस्ताव गरेका छन्।
यस प्रस्तावपछि जसपाले आज बिहान केन्द्रीय समिति बैठक बोलाएको छ।प्रस्तावपछि पार्टीको एकीकृत धारणा बनाउन उनले आज बिहान साढे ११ बजे काठमाडौंस्थित पार्टीमा कार्यालयमा बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाएका हुन् ।
अध्यक्ष राईका अनुसार, बैठकमा पार्टी एकता र मोर्चाबन्दीका लागि आएका प्रस्तावसहित आगामी निर्वाचन र भदौको जेनजी आन्दोलनपछिको राजनीतिक अवस्थाबारे छलफल हुने छ ।
‘पार्टी एकता गरौँ, नभए मोर्चाबन्दी गरौँ भनेर प्रचण्ड, माधव नेपालजी लगायत दुई–चार ठाउँबाट प्रस्ताव आएको छ । यस सम्बन्धमा कस्तो नीति बनाएर जाने भन्नेबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको हो,’ अध्यक्ष राईले भने । उनले केन्द्रीय समिति बैठकको निष्कर्षअनुसार अगाडि बढ्ने पनि प्रस्ट पारे । उनले राष्ट्रिय मुक्ति पार्टीबाट पनि त्यस्तै खालको प्रस्ताव आएको बताए ।
‘एक्लै जाने कि, मिलेर जाने कि, एकता गर्ने कि, मोर्चा बनाउने कि अथवा नयाँ दलहरूसँग सहकार्य गर्ने कि, पुरानासँग मिलेर जाने कि भनेर अहिले नै निधो गर्न सक्ने अवस्थामा छैनौँ भनेर मैले भनेको छु । त्यसबारेमा केन्द्रीय समिति बैठकबाट निर्णय गर्छौँ,’ राईले भने ।




















