काठमाडौं — आधुनिक शिक्षाको मुख्य चुनौतीमध्ये एक हो — विद्यार्थीमा मानवमूल्य र मानवताको कमी। पाठ्यपुस्तक र परीक्षा केन्द्रित शिक्षाले ज्ञान त दिन्छ, तर संवेदना र व्यवहार सिकाउन असफल हुँदै गएको छ। तर, बुढानीलकण्ठस्थित रिलायन्स पब्लिक स्कूलले देखाएको एउटा उदाहरण भने अरू धेरै विद्यालयका लागि प्रेरणादायी बन्न सक्छ।

गत कार्तिक १६ गते विद्यालयका विद्यार्थीहरूले खगेन्द्र नवजीवन केन्द्र, जोरपाटीमा पुगेर मानवता र सेवाको पाठ व्यवहारमै देखाए। रिलायन्स पब्लिक स्टुडेन्ट काउन्सिल र विद्यालयका पूर्वविद्यार्थी (अलुम्नाई) को सहयोगमा संकलित खाद्यान्न, लत्ताकपडा, सरसफाइ सामग्री र केही आर्थिक सहयोग केन्द्रलाई हस्तान्तरण गरिएको थियो।

सहयोग हस्तान्तरणपछि विद्यार्थीहरू त्यत्तिमै रोकिएनन्। उनीहरूले केन्द्र परिसरमा सरसफाइ अभियान सञ्चालन गरे— कोही आँगन बढार्दै थिए, कोही कोठा सफा गर्दै। अर्कोतर्फ भान्सामा विद्यार्थीहरूको अर्को टोली सक्रिय थियो— कोही तरकारी काट्दै, कोही खाना पकाउँदै, कोही अपांगता भएका व्यक्तिलाई माया र स्नेहसहित खाना खुवाउँदै। सबैका अनुहारमा सेवा गरेको सन्तुष्टिको मुस्कान झल्किएको थियो।

त्यो दिन विद्यार्थीहरूले मात्र दिएनन्, केही लिए पनि। “ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल, सिर्जनाशक्ति संसारमा कहिल्यै हँदैन विफल” — यो जीवनवादी सन्देश उनीहरूले केन्द्रमा रहेका प्रतिभाशाली व्यक्तिहरूको सिर्जनामा अनुभव गरे। केन्द्रका सदस्यहरूले तयार पारेका चित्रकला र हस्तकला हेर्दा विद्यार्थीहरूमा आत्मबल र सिर्जनात्मकताको गहिरो बोध भयो।

विद्यालयका संयोजक रोहित कुमार कटवालका अनुसार यस्ता कार्यक्रम विद्यार्थीमा समानुभूति, मानवीय कर्तव्य र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न अत्यन्तै उपयोगी छन्। “हाम्रो उद्देश्य विद्यार्थीहरूलाई केवल अकादमिक रूपमा मात्र होइन, जीवनमा मानवीय रूपमा सक्षम बनाउनु हो,” उनले बताए।

रिलायन्स पब्लिक स्कूलको यो पहलले देखाएको छ — मानवता र मानवीय सेवा किताबमा होइन, व्यवहारमा सिकिन्छ। र, शिक्षाको साँचो उद्देश्य पनि त्यही हो — संवेदनशील र जिम्मेवार नागरिक तयार पार्नु।