मोरङ — जनता समाजवादी पार्टी (जसपा) बेलबारी नगर समितिका अध्यक्ष अमीर मगरसहित सम्पूर्ण पदाधिकारीले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्। कात्तिक १९ गते संयुक्त हस्ताक्षरसहित जारी गरिएको प्रेस विज्ञप्तिमार्फत उनीहरूले जसपा परित्यागको घोषणा गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ— “पार्टीको विचार, सिद्धान्त र नीति राम्रो भए पनि शीर्ष नेताहरूको अहंकार, स्वार्थ र षड्यन्त्रका कारण पार्टी कमजोर बन्दै गएको र कार्यकर्ताको मनोबल विखण्डित बनेको” आरोप लगाइएको छ। उनीहरूले जसपाको नेतृत्वले जनमुखी काम नगरेको र कार्यकर्ताका सुझावलाई बेवास्ता गरेको आरोप पनि लगाएका छन्।

विज्ञप्तिमा जनाइएको छ कि— सहअस्तित्व, सुशासन, समृद्धि, समाजवाद, धर्मनिरपेक्षता र समानुपातिक राज्यव्यवस्थाका लागि स्थापना भएको दलको प्रारम्भिक उद्देश्य र सिद्धान्त राम्रो भए पनि हालको जसपाको व्यवहारले ती मूल्य र आदर्शहरू कमजोर बनाएको छ।

नगर समितिको सम्पूर्ण टिमले पार्टी परित्यागसँगै हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने तयारी गरेको चर्चा रहेक छ ।

परित्याग गर्ने समितिका पदाधिकारीहरूमा अध्यक्ष अमीर मगर, उपाध्यक्ष  लिला राई, सन्तोष तामाङ, सचिव  शिवकुमार राई, सहसचिव शशी राई, कोषाध्यक्ष  बाबुदेव राई, सदस्यहरु जगत भिमाल, बिलकुमार तामाङ, बिरबहादुर राई, आशिष घोले गुरुङ, मिलन राई, सोना राई, रत्न राई, हरिनारायण कवाकार, रमेश गुरुङ रहेका छन् ।


577574363_1234622718685019_8358358143242759243_n