काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले दुई दिनअघि लेखेको विवादास्पद फेसबुक स्टाटसलाई लिएर एमाले निकट युवा संघ नेपालले प्रहरीमा जाहेरी दिने तयारी गरेको छ।
संघका अनुसार बालेनको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गर्नुका साथै मित्रराष्ट्रप्रति पनि अपमानजनक अभिव्यक्ति दिएको भन्दै विद्युतीय अपराध अन्तर्गत साइबर ब्युरोमा उजुरी दर्ता गर्न लागिएको हो।
बालेनले मध्यरातमा गालीगलौजपूर्ण र अश्लील शब्द प्रयोग गरेको स्टाटस लेखेका थिए। केही समयपछि उनले स्टाटस हटाए पनि त्यसको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
स्टाटसपछि बालेनप्रति आलोचनात्मक टिप्पणीहरू बढेका छन्, केहीले उनलाई सार्वजनिक जिम्मेवारी बिर्सिएको आरोप समेत लगाएका छन्।




















