मोरङ — पछिल्ला केही दिनयता मोरङका विभिन्न सहरमा ठगहरूको सक्रियता बढ्दै गएको छ। उर्लाबारी, पथरीशनिश्चरे र विराटचोक क्षेत्रमा व्यापारीहरू ठगीका घटनाबाट पिडित बनेका छन्। अनलाइन पेमेन्ट प्रणालीको दुरुपयोग गरेर व्यापारीहरूलाई विश्वासमा पार्दै ठगी गर्ने क्रम रोकिएको छैन।
विराटचोकमा QR को नाममा ठगी
गत सोमबार विराटचोकस्थित माइ सुज पसलमा दुई युवाले ठगी गरेका छन्। उनीहरूले २,४०० रुपैयाँको जुत्ता खरिद गरी “QR मार्फत ७,४०० पठाइदिन्छौं” भन्दै उल्टै पसल सञ्चालकसँग ५,००० रुपैयाँ मागे।
उनीहरूले आफूहरूसँग नगद नभएको र आमाको उपचारका लागि विराटनगरमा भएको कारण देखाउँदै फन पे मार्फत पैसा पठाउने भनेपछि पसल सञ्चालक विश्वासमा परे। पसलमा भिड भएको समयमा म्यासेज आएको देखे पनि पछि जाँच गर्दा रकम नआएको पुष्टि भयो।
सो सम्बन्धमा पसल सञ्चालकले इलाका प्रहरी कार्यालय बेलबारीमा निवेदन दर्ता गराइसकेका छन्। प्रहरीले घटनामा संलग्न दुई व्यक्तिको खोजी जारी रहेको जनाएको छ।
यो विषयमा Fonepay सँग सम्पर्क गर्दा प्रतिनिधिले स्पष्ट रूपमा भनेका छन् कि “यदि तपाईंलाई proof (जस्तै SMS वा अन्य प्रमाण) छ भने प्रहरीमा उजुरी गर्न सक्नुहुन्छ”।
पथरीशनिश्चरेमा अर्को ठगी
त्यस्तै मोरङको पथरीशनिश्चरे–१ बुद्धचोकस्थित एक पसलमा पनि दुई व्यक्तिले समान किसिमको ठगी गरेका छन्। उनीहरूले २,५०० रुपैयाँको सामान किनेर “QR मार्फत ७,५०० पठाइदिन्छौं” भन्दै ५,००० नगद मागे।
QR स्क्यानका लागि उनीहरूले अर्को महिलाको QR कोड प्रयोग गराएका थिए। पसल सञ्चालकको मोबाइलमा AT ALERT बाट म्यासेज आएपछि रकम पठाइयो भन्ने विश्वास गरी सामान र नगद दिएका थिए। तर पछि खातामा पैसा नआएपछि ठगी भएको पुष्टि भयो। प्रहरीले ती दुई व्यक्तिको खोजी सुरु गरेको छ।
उर्लाबारीमा पनि अनलाइन स्क्याम
यसअघि पनि मोरङकै उर्लाबारीमा अनलाइन पेमेन्ट स्क्यामरहरूले दुई कपडा पसलबाट क्रमशः रु ४,६०० र रु ९,००० ठगी गरेका थिए।
स्क्याममा संलग्न दुई व्यक्तिहरूले पहिलो पसलमा सिसी क्यामेरा नभएको पत्ता लगाई अर्को साथीलाई बोलाएर कपडा र नगद लिए। त्यसपछि QR को फोटो खिची “अर्को ठाउँबाट पैसा हाल्छौं” भन्दै पसललाई झुक्याएका थिए।
AT_ALERT बाट नक्कली म्यासेज
सर्वत्र देखिएको समानता भनेको यी घटनामा प्रयोग गरिएको AT_ALERT म्यासेज हो। ठगहरूले मोबाइलमा भ्रामक SMS पठाएर तिर्नुपर्ने रकम बराबरको नक्कली ट्रान्जेक्सन देखाउने गरेका छन्। पसलहरूले SMS पठाउने ठेगाना नहेरी विश्वास गर्दा ठगीमा परेका हुन्।
पथरी र विराटचोकमा ठगि गर्ने व्यक्ती यी नै रहेको पिडित व्यापारीबीच सम्बादबाट खुलासा भएको छ ।



















