काठमाडौं — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले फर्कने तयारीसँगै रामकुमारी झाँक्रीलगायत नेतामाथि पार्टीभित्र कारबाही गरेपछि नेतृ झाँक्रीले तीव्र प्रतिक्रिया दिएकी छन्।
शुक्रबार बिहान सामाजिक सञ्जालमा पोस्ट गर्दै झाँक्रीले अध्यक्ष नेपालप्रति व्यंग्य गर्दै लेखेकी छन् —
“आफ्नै बैज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ? केही अर्थ छ र अब पनि कारबाहीको? लोकले के भन्ला भन्ने पनि लागेन र?”
झाँक्रीले आफ्नो स्टाटसमा माधव नेपालको राजनीतिक यात्राको समीक्षा गर्दै लेखेकी छन् —
“तपाईं सबै कालखण्ड गरेर १९ वर्ष पार्टी प्रमुख, बाँकी समय पार्टी प्रमुखलाई चलाउने र नियन्त्रण गर्ने जिम्मेवारीमा बसेर काम गर्नुभयो। यो अन्तिम घटनाले तपाईंको इतिहासलाई फेरी बल्झायो। विर्सेकाहरूले सबै घटना स्मृतिमा लिने भए।”
उनले थप लेखेकी छन् —“जिन्दगीमा के लानु छ कमरेड? समाज र देशको लागि जीवन/जवानी अर्पण गरेको व्यक्तिले लाने त यति त हो— एउटा मिठो वा तितो स्मृति, चिया पसलमा पुग्दा बोल्ने दुई जना मान्छे। आफ्नै मलामी त कसले पो देख्छ र?”
अन्त्यमा उनले लेखेकी छन् —“हार्दिक धन्यवाद यो अन्तिम कर्मको लागि। बाँकी जीवन सुखद होस्, परिवारमा शान्ति र स्वास्थ्यको हार्दिक शुभकामना। तपाईं जहाँ रहे पनि हाम्रो अभिभावक हुनुहुन्छ। मैले यसरी सधैँ सम्झने छु।”
“विघटन घोषणा गरेपछि पनि लेटरहेड प्रयोग गरी वक्तव्य निकाल्नु आफैंमा अनौठो राजनीतिक अभ्यास हो, जसले नेपालको राजनीतिक विश्वासनीयता माथि प्रश्न उठाएको छ।”




















