काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का नेता दामोदर अर्यालले पूर्वअध्यक्ष माधवकुमार नेपालमाथि कटाक्ष गर्दै नौ महत्वपूर्ण प्रश्न उठाएका छन्। अर्यालले विघटन भइसकेको पार्टीको लेटरप्याड प्रयोग गरी कार्तिक २० गते आफूहरूलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको वक्तव्य जारी गरेकोमा आपत्ति जनाएका हुन्।

अर्यालले सामाजिक सञ्जालमार्फत बताएका छन्, “यहीँ कार्तिक १९ गते तपाईंले आफैले विघटन गरिसक्नु भएको पार्टीको लेटरप्याड दुरुपयोग गर्दै कार्तिक २० गते वक्तव्य जारी गर्नुभयो। यो जानकारी मैले सार्वजनिक सञ्चारमाध्यमबाट पाएँ।”

उनले प्रश्न उठाएका छन् कि विघटन भैसकेको पार्टीको कानुनी अस्तित्व नभएको अवस्थामा लेटरप्याड प्रयोग गर्न अप्ठेरो लागेन? साथै, कार्तिक १९ मा बैठक नै नभई निर्णय जारी गर्नुको औचित्य के हो र त्यसको माईन्युट सार्वजनिक गर्न सकिन्छ कि सकिँदैन?

अर्यालले आफ्नो राजनीतिक धारणा पनि स्पष्ट पारेका छन्। उनले भनेका छन्, “मैले पार्टीलाई माओवादी पार्टीसँग विलय गर्ने प्रक्रियाको शुरुदेखि नै विरोध गर्दै आएका थिएँ। मैले आफ्ना धारणा सार्वजनिक माध्यम र केन्द्रिय कमिटी बैठकमा राखेको थिएँ। तर कृत्रिम बहुमत बनाएर ८१ जनालाई मनोनीत गर्नु भएको थियो।”

अर्यालले माधवमाथि दुई आरोपको पनि उल्लेख गरेका छन् — भेला आयोजना गर्नु र पत्रकार सम्मेलन गर्नु। उनले प्रश्न उठाएका छन्, “राजनीतिक अधिकार र संविधान प्रदत अधिकारको दायरामा पर्ने यी गतिविधिहरूलाई अपराध ठान्ने धृष्टता कसरी भयो?”

त्यसैगरी, उनले अनुशासन कारबाही प्रक्रिया, पदको प्रयोग, र अनुशासन आयोगको क्षेत्राधिकारको उल्लंघन भएकोमा आपत्ति जनाएका छन्। अर्यालले थपे, “म राजनीतिक प्राणी हुँ। मेरो पार्टी प्रवेश गर्ने वा नगर्ने अधिकार मेरो स्वविवेकमा आधारित छ। विघटन र विलयमा आपत्ति जनाउनु मेरो कर्तव्य हो।”