इनरुवा — नेकपा (एमाले) सुनसरीले कात्तिक २९ गते इटहरीमा भव्य मोटरसाइकल र्‍यालीसहित  शक्ति प्रदर्शन गर्ने भएको छ।

एमाले सुनसरी जिल्ला कमिटीले आइतबार इनरुवामा सम्पन्न गरेको अगुवा कार्यकर्ता भेला तथा विस्तारित बैठकले सो निर्णय गरेको हो। बैठकमा आगामी राजनीतिक गतिविधिलाई सशक्तरूपमा अघि बढाउने रणनीति तय गरिएको जनाइएको छ।

एमाले सुनसरी जिल्ला उपसचिव इन्द्रकला राईका अनुसार सुनसरीका धरान, इटहरी, इनरुवा, दुहबी, बराहक्षेत्रलगायत १२ वटै पालिकाबाट बिहान ११ बजे इटहरी चोकसम्म मोटरसाइकल र्‍याली निकालिनेछ।

“कात्तिक २९ गते जिल्लाभरिबाट करिब पाँच हजार कार्यकर्ता पार्टीको झण्डासहित र्‍यालीमा सहभागी हुनेछन्,” राईले भनिन्। “एमालेको संगठनात्मक एकता, राष्ट्रप्रेम र जनभावनालाई एकजुट रूपमा प्रस्तुत गर्नु हाम्रो उद्देश्य हो।”

राईका अनुसार सबै पालिकाबाट आएका र्‍यालीहरू इटहरी नगरपालिकाको अगाडिको सडकमा कोणसभामा रूपान्तरण हुनेछन्, जहाँ पार्टीका केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

एमाले सुनसरीले हालै सम्पन्न कार्यकर्ता भेलाबाट संगठन सुदृढीकरण र जनसंपर्क विस्तारका लागि अभियान सुरु गर्ने निर्णय गरेको थियो। इटहरीको शक्ति प्रदर्शन अभियानलाई त्यसै रणनीतिको प्रारम्भिक चरणको रूपमा लिइएको जनाइएको छ।