काठमाडौँ— जनता समाजवादी पार्टी र नेपाली कम्युनिष्ट पार्टीबीच एकता हुने निश्चित भएको छ।
दुवै पार्टीका नेताहरूबीच राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक प्रणाली र कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने सैद्धान्तिक समझदारी भएकाले एकीकरणका लागि प्रक्रिया सुरु गरिएको हो।
अशोक राई नेतृत्वको पार्टीले हालै सम्पन्न केन्द्रीय बैठकबाट एकताका लागि केन्द्रीय कार्यकारिणी परिषदलाई जिम्मेवारी प्रदान गरेको छ।
केन्द्रीय सदस्य सोनाम लामाका अनुसार, दुवै पक्ष सैद्धान्तिक विषयमा सहमत भएपछि केही नेताहरूले व्यवस्थापन र प्राविधिक विषय टुङ्गो लगाउनेछन्। केही दिनभित्र एकताको घोषणा गरिने अपेक्षा गरिएको छ।
नेपाली कम्युनिष्ट पार्टीले समान विचारधारा भएका समूह तथा राजनीतिक दलसँग एकता गरी बृहत् कम्युनिष्ट केन्द्र निर्माणको अभियान थालेको छ।
यसअघि नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लगायतका दश वामपन्थी दलले एकता गरेपछि नयाँ पार्टी गठन भएको थियो। पार्टीले चुनावअगाडि वाम शक्ति ध्रुवीकरण गर्ने योजना बनाएको छ।
पार्टीले सातै प्रदेशमा एकतासभा गर्ने तयारी समेत गरेको छ। साथै, नेकपा (एमाले) का पूर्व उपाध्यक्ष एवं मातृभूमि जागरण अभियानका संयोजक भीम रावलसँग पनि एकताको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ।




















