काठमाडौं — एकीकृत समाजवादी पुनर्गठन अभियान केन्द्रीय कमिटीको बैठक आज सम्पन्न भएको छ। संयोजक घनश्याम भुसालको अध्यक्षतामा बसेको बैठकले संगठन विस्तारदेखि राजनीतिक घोषणापत्रसम्बन्धी तयारीसम्म पाँच महत्वपूर्ण निर्णय गरेको प्रचार विभाग प्रमुख दामोदर अर्यालले जानकारी दिए।
बैठकमा प्रस्तुत राजनीतिक घोषणापत्र र विधानका प्रारम्भिक खाकाबारे विस्तृत छलफल भएको थियो। छलफलमा उठेका बुँदाहरू समेटेर संयोजकले आगामी बैठकमा राजनीतिक घोषणा पत्र तथा विधानको मस्यौदा पुनः प्रस्तुत गर्ने निर्णय भएको छ।
यसैगरी पुनर्गठन अभियानमा सहभागी नेकपा (एकीकृत समाजवादी) का जिल्ला तथा स्थानीय कमिटीहरूलाई सकेसम्म चाँडो व्यवस्थित तथा विस्तार गर्ने निर्णय गरियो।
बैठकले यही मंसिरमा राष्ट्रिय भेलाको आयोजना गर्ने तथा त्यसको ठोस मिति आगामी बैठकमा तय गर्ने निर्णय पनि गरेको छ।
भ्रष्टाचार, फौजदारी अभियोग लागेका व्यक्ति तथा सामाजिकरूपले बदनाम व्यक्तिहरूबाट पार्टीलाई सुरक्षित राख्न अहिलेबाटै विशेष ध्यान दिने निर्णय बैठकले गरेको छ।
यसबाहेक कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा देशभक्त शक्तिहरूसँग सहकार्यका लागि आवश्यक छलफलहरू गर्न संयोजक भुसाललाई जिम्मा दिने निर्णय पनि बैठकले गरेको छ।




















