एजेन्सी—बंगलादेशकी पूर्वप्रधानमन्त्री ७८ वर्षीया शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी)ले उनलाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो ।
उनलाई मृत्युदण्डको सजाए सुनाइएसँगै बंगलादेशको सत्ता संरचना, राजनीतिक संस्कार र राज्य–नागरिक सम्बन्धमा ठूलो हलचल उत्पन्न भएको छ । हसिनाविरुद्ध अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणमा सुनुवाइ भइरहेको मुद्दामा सोमबार फैसला सुनाइएको हो ।
बंगलादेशमा भएको राजनीतिक उथलपुथलपछि हसिना भारतमा शरण लिएर बसिरहेकी छन् । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री हसिनालाई मानवताविरुद्धको अपराधको आरोपमा मृत्युदण्डको सजाय तोकिएको हो ।
न्यायाधिकरणले महिनौ लामो सुनुवाइमा उनलाई गत वर्ष विद्यार्थी नेतृत्वको विद्रोहमाथि घातक दमनको आदेश दिएकोमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो । गत वर्ष जुलाई–अगस्टमा आरक्षणको विरोधमा विद्यार्थीहरूले देशभर गरेको प्रदर्शन दमनका क्रममा राज्य संयन्त्रलाई दमनात्मक रूपमा प्रयोग गर्न तत्कालीन प्रधानमन्त्री हसिनाले प्रत्यक्ष निर्देशन दिएको ठहर न्यायाधिकरणले गरेको छ ।
न्यायाधीश गुलाम मुर्तजाको अध्यक्षतामा न्यायाधीशहरू मोहम्मद शफीउल आलम महमुद र मोहम्मद मोहितुल हक एनाम चौधरी सम्मिलित इजलासले उक्त फैसला गरेको हो । विद्यार्थी आन्दोलनलाई रोक्न हसिनाको निर्देशनमा सरकारी संयन्त्रले बल प्रयोग गर्दै अत्यधिक हिंसात्मक कदम चालेको प्रमाणित गर्दै इजलासले हसिनालाई कुनै मौका नदिइकन मृत्युदण्डको सजाय सुनाएको छ ।
मुद्दामा तत्कालीन प्रधानमन्त्री हसिना, गृहमन्त्री असदुज्जमान खान कमाल र प्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अलमामुनलाई विपक्षी बनाइएको थियो । अदालतले तीनै जनालाई कसुरदार मानेको छ ।
अदालतले तत्कालीन गृहमन्त्री आसदुज्जमान खान कमाललाई समेत मृत्युदण्डको सजाय सुनाएको छ । तत्काली प्रहरी प्रमुख चौधरी अब्दुल्लाह अलमामुन सरकारी गवाहा बनेका कारण ५ वर्षको कैद सजाय सुनाइएको छ ।
प्रदर्शन दबाउन तथा आन्दोलनकारीलाई खोज्न तथा पहिचान गर्न तत्कालीन प्रधानमन्त्री हसिनाले सुरक्षा निकायलाई ड्रोन प्रयोग गर्न अनुमति दिएको, प्रदर्शनकारी भेला भएको स्थानमा हेलिकोप्टरबाट बम खसाल्न अनुमति दिएकोसमेत इजलासले ठहर गरेको छ ।
अदालतले यस क्रममा ५४ जनाको बयानलाई आधार मानिएको पनि प्रस्ट पारेको छ । भारतको शरणमा रहेकी हसिना अदालतको यो सुनुवाइ प्रक्रियामा भने सामेल भएकी थिइनन् ।




















