विराटनगर — ‘घर फर्क राष्ट्रिय अभियान’ अन्तर्गत नेकपा एकीकृत समाजवादी (एस) विराटनगर महानगर कमिटीसहित कोशी प्रदेश कमिटी र मोरङ जिल्ला कमिटीका करिब ८० भन्दा बढी नेता–कार्यकर्ता नेकपा एमालेमा पुन: समाहित भएका छन्।
सोमबार विराटनगरमा बसेको एमाले कोशी प्रदेश कमिटीको नवौं पूर्ण बैठकमा सिंगो महानगर कमिटी एमालेमै फर्किएको घोषणा गरिएको हो।
एमाले केन्द्रीय सदस्य तथा मोरङ इञ्चार्ज जीवन घिमिरेका अनुसार विभिन्न समयमा पार्टी छोडेर अन्य दलतिर गएका नेताहरूलाई पुनः सक्रिय गराउने उद्देश्यले चलाइएको ‘घर फर्क अभियान’ले उत्साहजनक परिणाम दिइरहेको छ।
समाहित भएका एसका कोशी प्रदेश सचिवालय सदस्य डा. उद्धव पोखरेलले एमाले आफ्नो “रगत–पसिनाले बनाएको घर” भएको बताउँदै, केही समय बाहिर बसे पनि पुनः कम्युनिष्ट आन्दोलनको मूलधारमा फर्किन पाउँदा खुशी लागेको प्रतिक्रिया जनाए।
पार्टीमा समाहित भएकालाई स्वागत गर्दै एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले पार्टीमा लामो समय खट्नु भएका नेताहरू पुन: पार्टीमा आउँदा पार्टीले उचित जिम्मेवारी दिने बताए । खतिवडाले पुराना कार्यकर्ताहरू फर्किँदा पार्टी थप मजबूत भएको बताए। खतिवडाले देशमा लोकतन्त्रलाई स्थिर र बलियो राख्न “एमाले नै वैकल्पिक शक्ति” भएको जिकिर गरे।
घर फर्क अभियान अन्तर्गत नेकपा एसको प्रदेश कमिटी,जिल्ला कमिटी सदस्यहरु र सिंगो महानगर कमिटी गरेर एमाले विराटनगर महानगर कमिटी अध्यक्ष बलराम गिरीले जानकारी दिए ।
गिरीका अनुसार, आगामी केन्द्रीय महाधिवेशनअघि मोरङका अन्य पालिकाबाट पनि नेताहरू एमालेमै फर्किने क्रम जारी रहनेछ।




















