नयाँ दिल्ली— भारतको मुम्बई नजिकैको वसईमा विद्यालयमा १०० पटक उठबस गर्न लगाउदा एक १३ वर्षीया बालिकाको मृत्यु भएको छ। विद्यालय ढिलो आएको भन्दै कठोर सजायकै कारण छोरीको ज्यान गएको परिवारको आरोप छ।
घटना वसई पूर्वको सतीवली क्षेत्रस्थित कुवारा पाडा परिसरको एक माध्यमिक विद्यालयमा भएको हो, जहाँ मृतक बालिका कक्षा ६ मा अध्ययनरत थिइन्। नोभेम्बर ८ काे बिहान केही विद्यार्थी ढिलो स्कुल पुगेका थिए, जसमा ती बालिका पनि परेकी थिइन्।
स्कुल प्रशासनका अनुसार केही विद्यार्थीलाई झोला बोकेर सामान्य सिट–अप गराइएको थियो, तर ती १३ वर्षीया बालिकालाई १०० पटक उठबस गर्न लगाइएको थियो। घर फर्किएपछि उनको स्वास्थ्य एकाएक बिग्रिँदै गयो र उनलाई तुरुन्तै वसईको आस्था अस्पतालमा भर्ना गरियो। अवस्था गम्भीर बन्दै गएपछि उनलाई मुम्बईको जेजे अस्पताल लगिएको थियो।
नोभेम्बर १४ राति करिब ११ बजे उपचारका क्रममा उनको मृत्यु भएको बीबीसीले जनाएको छ।
वसईको भलिव प्रहरी चौकीका वरिष्ठ प्रहरी निरीक्षक दिलीप घुगेका अनुसार, बालिकाका अभिभावकले कठोर सजायका कारण छोरीको मृत्यु भएको दाबी गर्दै सजाय दिएको शिक्षिकामाथि कडा कारबाही गर्न माग गरेका छन्।
यस घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ। दोषी पुष्टि भए शिक्षिकामाथि आवश्यक कानुनी कदम चालिने समितिले जनाएको छ।




















