काठमाडौँ — २५२ करोड रुपैयाँ बराबरको ठूलो लागूऔषध (ड्रग्स) कारोबारसम्बन्धी अनुसन्धानले बलिउडसम्म पहुँच बनाएको छ। यसै प्रकरणमा सोशल मिडिया इन्फ्लुएन्सर ओरी कानुनी घेरामा परेका छन्। मुम्बई प्रहरीले उनलाई समन जारी गर्दै बिहीबार एण्टी-नार्कोटिक्स सेलको घाटकोपर युनिटमा उपस्थिति जनाई बयान दिन निर्देशन दिएको छ।
ओरीमाथिको अनुसन्धान त्यसपछि तीव्र बन्यो जब पक्राउ परेका एक आरोपीले देश–विदेशमा हुने ‘रेभ पार्टी’ र लागूऔषध सप्लाई नेटवर्कबारे महत्वपूर्ण खुलासा गरे। आरोपीले आफू धेरै हाई–प्रोफाइल पार्टीहरूको आयोजक तथा सहभागी रहेको दाबी गर्दै नोरा फतेही, श्रद्धा कपूर र इन्फ्लुएन्सर ओरीसँग मिलेर विभिन्न स्थानमा पार्टी आयोजना हुने गरेको बयान दिएका थिए। उक्त बयानकै आधारमा प्रहरीले ओरीलाई प्रत्यक्ष रूपमा अनुसन्धान दायरामा ल्याएको हो।
ओरी ती इनफ्लुएन्सर हुन्, जो बलिउड कलाकारहरूसँग नजिकिएको छवि बनाएका छन्। चर्चित अभिनेत्रीहरूले समेत उनीसँग तस्बिर खिचाउने गरेको हुँदा उनी सोसल मिडियामा ट्रेन्डिङ हुने गर्दछन्।
यसअघि सार्वजनिक भएको एउटा चिकित्सकीय जाँच प्रतिवेदनले पनि दाउद इब्राहिम गिरोहसँग जोडिएको अर्को सुतो उजागर गरेको थियो। प्रतिवेदन अनुसार दाउदका नजिकका मानिने फरार ड्रग तस्कर सलीम डोला समूहका सहयोगी मोहम्मद सलीम मोहम्मद सुहैल शेखले मुम्बई र दुबईमा ठूला रेव पार्टीहरूको आयोजना गर्दै आएको खुलेको थियो।
मुम्बई क्राइम ब्रान्चको एण्टी-नार्कोटिक्स सेलको दाबी अनुसार ती पार्टीहरूमा दाउद इब्राहिमकी दिवंगत बहिनी हसीना पार्करका छोरा अलिशाह, अभिनेत्री नोरा फतेही, श्रद्धा कपूर, उनका दाजु सिद्धार्थ कपूर र इन्फ्लुएन्सर ओरीसमेत सहभागी हुने गरेको आरोप छ।
यो प्रकरण बलिउड तथा भारतको उच्च–प्रोफाइल सोसल सर्कलमा फैलिएको सम्भावित लागूऔषध सञ्जालबारे ठूलो सवाल उठाउँदै छ। प्रहरी अनुसन्धान अझै अगाडि बढिरहेको छ।




















