काठमाडौँ—डा. बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियारले गठन गर्न लागेको नयाँ गैरकम्युनिष्ट पार्टीको नेतृत्व चक्रिय प्रणालीका आधारमा हुने भएको छ। एकीकृत पार्टीमा तीनै पक्षले पालैपालो नेतृत्व गर्ने गरी सहमति जुटाइएको बताइएको छ।
बाबुराम नेतृत्वको नेसपा (नयाँ शक्ति), जनार्दनको प्रगतिशील अभियान र रास्वपा छोडेका सन्तोषबीच कात्तिक २८ गते पार्टी एकता गर्ने समझदारी भएको थियो। उक्त सहमतिमा प्रगतिशील अभियानका संयोजक सुदन किराती, नयाँ शक्तिकी संयोजक दुर्गा शोव र सन्तोष परियारले बाबुराम र जनार्दनलाई साक्षी राखेर पाँच बुँदे सहमतिमा हस्ताक्षर गरेका थिए।
यो सहमतिअनुसार पार्टीको नाम र चुनाव चिन्ह एकै बनाउने तथा मङ्सिर ७ गते औपचारिक घोषणा गर्ने उल्लेख थियो। तर अहिलेसम्म त्यसबारे अन्तिम निर्णय भइसकेको छैन। पार्टीको नीति, मार्गदर्शक सिद्धान्त, संगठनात्मक संरचना जस्ता मुख्य विषयमा समेत सहमति बाँकी रहेको स्रोतले जनाउँछ।
देश–विदेशमा रहेका प्रगतिशील, लोकतान्त्रिक, वामपन्थी, देशभक्त तथा जेनजी युवालाई समेटेर नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने भनिए पनि पार्टीको राजनीतिक दिशाबारे स्पष्टता नआएको टिप्पणी गरिएको छ।
यसबीच, माओवादी केन्द्र पुनर्गठनको घोषणादेखि दूर हुँदै जनार्दन शर्मा अहिले उल्टै गैरकम्युनिष्ट पार्टी निर्माणतिर लागेका छन्। मार्क्सवाद–लेनिनवाद–माओवाद त्यागेको उनले औपचारिक रूपमा घोषणा गरेका छैनन्। तर प्रचण्डले माओवाद परित्याग गरेको आरोप लगाउँदै आफूले वाम आन्दोलन पुनःसंयोजन गर्ने बताएका जनार्दन अहिले नयाँ पार्टी निर्माणमै केन्द्रित देखिन्छन्।
बाबुराम भट्टराईको पक्षमा हेर्दा, उनले १० वर्षअघि नै मार्क्सवादको औचित्यमाथि प्रश्न उठाउँदै एकीकृत माओवादीबाट बाहिरिएको स्मरणीय छ। त्यसयता उनले नयाँ शक्ति, संघीय समाजवादी फोरम, राजपा, जसपा, नेसपा हुँदै फेरि नयाँ शक्ति (नेसपा) मा फर्किंदै आधा दर्जन भन्दा बढी संरचनामा नेतृत्व सम्हालेका छन्।
जेनजी आन्दोलनपछिको आन्तरिक परिवर्तनमा उनले अध्यक्षबाट राजीनामा दिएर दुर्गा शोवलाई संयोजक बनाएका थिए। अहिले बन्ने पार्टीमा भने बाबुराम सल्लाहकार भूमिकामा सीमित भएर छोरी मानुषी यमी भट्टराईलाई अघि बढाउने तयारीमा रहेको बताइएको छ।
पुराना वाम दलप्रति बढ्दो असन्तुष्टि र नयाँ विकल्प खोज्ने मनोविज्ञानकै कारण फरक–फरक वैचारिक पृष्ठभूमिबाट आएका तीन नेताको यो मिलनलाई कतिपयले ‘वैकल्पिक थलो’को रूपमा विश्लेषण गरेका छन्।




















