काठमाडौँ— नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको सक्रियताले मुलुक पुनः सही दिशामा फर्किन थालेको बताएका छन्। नेपाल निर्माण उद्योग परिषद्को केन्द्रीय भेलालाई शुक्रबार सम्बोधन गर्दै उनले पछिल्ला राजनीतिक विवाद, न्यायिक अशान्ति र सरकारप्रति बढ्दो असन्तुष्टिले देश अल्झिएको अवस्थामा एमालेको सक्रिय भूमिकाले अवस्था सुधारतर्फ गएको दाबी गरे।
राज्य कमजोर बन्दै गएको समयमा एमालेले आयोजना गरेका देशव्यापी कार्यक्रमहरूले परिस्थिति सम्हाल्न मद्दत गरेको उल्लेख गर्दै उनले आगामी दिनमा यो भूमिका अझै विस्तार गर्ने बताए।
भदौ २३ र २४ मा भएका तोडफोड तथा विध्वंसकारी गतिविधि बढ्दै जाँदा एमालेका कार्यक्रमहरूले ती घटनालाई सामान्य बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ। पछिल्ला दिनमा जनतामा देखिएको त्रास र अनिश्चितता कम हुनुमा पनि पार्टीको गतिविधि प्रभावकारी बसेको दाबी गरे।
उनका अनुसार मुलुकमा दलविहीनता, असंवैधानिक अभ्यास र संविधानलाई कमजोर पार्ने प्रयास बढ्नु चिन्ताजनक छ। संविधान नमान्ने व्यक्तिबाट कानुनी राज्य स्थापना हुन नसक्ने टिप्पणी गरे।
संविधानले जनताबाट निर्वाचित प्रतिनिधिद्वारा शासन हुने व्यवस्था स्पष्ट रूपमा दिएको भए पनि पछिल्ला गतिविधिले संवैधानिक मर्यादामाथि चुनौती देखिएको उनले बताए।
जेनजी आन्दोलनलाई अस्थिरता चाहने शक्तिहरूले ‘प्रयोग’ गरेको आरोप लगाउँदै उनले यस्ता घटना दोहोरिन नदिन सबै जिम्मेवार पक्ष सचेत हुनुपर्ने धारणा राखे।
राज्य कमजोर भइरहेका बेला नागरिकको सुरक्षाका लागि तथा राज्य संरचना सुदृढ बनाउन राष्ट्रिय स्वयंसेवक दस्ता गठन गरिएको र यसलाई टोलटोलसम्म विस्तार गरिने जानकारी दिए।
कार्यक्रममा उनले मुलुकको समृद्धि र विकासमा निर्माण व्यवसायीहरूको भूमिका निर्णायक रहेको उल्लेख गर्दै सबै निर्माण व्यवसायीलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे। उनले आगामी मङ्सिर २७ गते काठमाडौँमा हुने एमालेको एघारौँ महाधिवेशन उद्घाटन कार्यक्रममा ऐतिहासिक उपस्थिति रहने दाबी पनि गरे।
परिषद् अध्यक्ष बलिभद्र रानाको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि एमाले स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकाल, उद्योग तथा व्यवसायी महासंघका इञ्चार्ज रचना खड्का, भागीरथ सापकोटा, सहइञ्चार्ज चिरञ्जीवी पोखरेललगायतले आफ्नो धारणा व्यक्त गरेका थिए।




















