काठमाडौँ—नेकपा एमालेले प्रतिगामी षडयन्त्रका विरुद्ध सुरु गरेको जनपरिचलान कार्यक्रम अन्तरगत आज काठमाडौंमा जनसभाको आयोजना गरेको छ ।

भदौ २३ र २४ मा भएका विध्वंसकारी गतिविधिपछि असंवैधानिक रूपमा प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभा विघटन गरिएको भन्दै एमालेले कात्तिक २२ देखि वडा तहबाट जनपरिचालन थालिएको छ।

प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार प्रतिनिधिसभा पुनर्स्थापनालाई मुख्य माग बनाउँदै आजको जनसभा आयोजना गरिएको हो। बागमती प्रदेश कमिटीले आयोजना गरेको जनसभा भृकुटी मण्डपमा हुनेछ।
एमालेका नेता–कार्यकर्ता, जनसंगठन तथा सम्पर्क समन्वय कमिटीहरूबाट सुरु हुने र्याली प्रदर्शनी मार्गमा जम्मा भई रत्नपार्क परिक्रमा गर्दै भृकुटी मण्डपमा आमसभामा परिणत हुने गौतमले जानकारी दिए। जनसभालाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्।

गत असोज ३१ गते सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार कात्तिक २२ मा देशभरका वडामा वडा भेला, २५ मा सबै पालिकामा पालिकास्तरीय र्याली र कात्तिक २९ मा सबै जिल्लामा जिल्ला स्तरीय जनसभा सम्पन्न भइसकेको गौतमले बताए।
‘आजको कार्यक्रमसँगै जनपरिचालनको पहिलो चरण पूरा हुन्छ,’ गौतमले भने, ‘यसपछि मंसिर २७ गते काठमाडौंमा हुने ११औँ महाधिवेशन उद्घाटन समारोहमा फेरि विशाल जनसभा हुनेछ।’

एमालेले यसबीचमा जिल्ला तथा स्थानीय कमिटीहरूले आवश्यक ठानेअनुसार प्रतिगामी षडयन्त्रका विरुद्ध आ–आफ्ना स्तरमा कार्यक्रम सञ्चालन गर्न सक्ने जनाएको छ।