काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँका सभापति प्रदिप विष्टले पार्टी त्यागेका छन्। उनले बागमती प्रदेश समितिलाई औपचारिक रूपमा लिखित राजीनामा बुझाएका छन्।

राजीनामा बुझाउनु अघि विष्टले जिल्ला कार्य समितिको बैठक बोलाएर आफू पार्टीबाट बाहिरिन लागेको जानकारी समेत गराएको स्रोतले बताएको छ। २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ–१० बाट रास्वपाका तर्फबाट उम्मेदवार बनेका विष्टले ८ हजार ७३९ मत प्राप्त गरेका थिए।

पछिल्लो समय शीर्ष नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि बढ्दै गएको र यही कारणले उनले पार्टी छाड्ने निर्णय गरेकाे बताइन्छ। यद्यपि, आगामी राजनीतिक कदमबारे भने उनले सार्वजनिक रूपमा केही खुलाएका छैनन्। उनको राजीनामा प्रदेश समितिमा स्वीकृतिका लागि प्रक्रियामा रहेको बताइएको छ।

जेनजी आन्दोलनपछि रास्वपाभित्र असन्तुष्टि बढ्दै गएको देखिन्छ । कात्तिक २८ गते पार्टीका प्रभावशाली नेता सन्तोष परियारले रास्वपा छोडेका थिए भने त्यसअघि सह-संस्थापक नेतृ सुमना श्रेष्ठले राजीनामा दिएकी थिइन्। पछिल्लो निरन्तर निर्गमनले पार्टीभित्रको आन्तरिक चुनौती फेरि चर्चामा आएको छ।