काठमाडौं — अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) गम्भीर आन्तरिक विवादपछि विभाजनमा पुगेको छ। पार्टीभित्र मधेशवादी दलसँग एकता गर्ने कि नेपाली कम्युनिस्ट पार्टीसँग जाने भन्ने बहस चर्किँदा नेतृत्व तहमै फुट आएको हो।
पार्टीभित्रको मतभेद बढेपछि संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहित ६ जना शीर्ष नेता प्रचण्ड संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा समाहित हुने निर्णय गर्दै राजीनामा दिएका छन्।
नेकपामा जाने नेताहरूमा राजेन्द्र श्रेष्ठ – संघीय परिषद् अध्यक्ष, रणध्वज लिम्बू – उपाध्यक्ष, परशुराम बस्नेत – उपाध्यक्ष, दुर्गामणि देवान – केन्द्रीय सल्लाहकार समिति अध्यक्ष, डा. पुष्पराज राजकर्णकार – केन्द्रीय विज्ञपरिषद् अध्यक्ष, कृष्णबहादुर घजु – केन्द्रीय अनुसन्धान आयोग अध्यक्ष रहेका छन् ।
उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीले एकता सम्बन्धी कार्यकारिणी बैठक नै नबोलाएको, पार्टीभित्र सहमति खोजिने वातावरण नरहेको र राजनीतिक परिवर्तनका पक्षधर शक्तिसँग मिलेर अघि बढ्नु आवश्यक भएको बताए।
जसपाभित्र प्रदीप यादव, नवलकिशोर शाहलगायतका नेताहरूले मधेसी दलसँग एकता वा मोर्चा गठन गर्ने लाइनमा थिए भने अर्कोतर्फ केही नेता नेकपा संग एकताका पक्षमा थिए। अध्यक्ष अशोक राई स्वयं पनि नेकपातर्फ झुकाव राखे पनि अन्तिम निर्णयमा सहमति जुट्न नसकेपछि पार्टी विभाजनतिर उन्मुख भएको देखिन्छ।
यसैबीच, राजीनामा दिएका नेताहरूले कात्तिक १९ गतेबाट औपचारिक रूपमा नेकपामा प्रवेश गर्ने बताएका छन्।





















