मोरङ — “प्रविधिको सही प्रयोग गरौँ : लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मूल नारासहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मोरङको केरबारी गाउँपालिकामा आज अभियानको औपचारिक शुभारम्भ गरिएको छ।
गाउँपालिका उपाध्यक्ष मनमाया मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लैङ्गिक हिंसा तथा लाञ्छना सम्बन्धी अन्तरक्रिया पनि आयोजना गरिएको थियो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठ, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, विभिन्न शाखाका कर्मचारी, महिला कर्मचारीहरू तथा सबै वडाका अग्रज महिलाहरू सहभागी थिए।
अभियानमार्फत समाजमा देखिँदै आएका लैङ्गिक हिंसा तथा विभेदबिरुद्ध सचेतना फैलाउने, समुदायलाई सशक्त बनाउने र प्रविधिको सही उपयोगबाट हिंसा रोकथाममा सबैलाई जोड दिने लक्ष्य रहेको बताइएको छ।


























