एजेन्सी — बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई अदालतले मृत्युदण्ड दिने निर्णय गरेकोमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कडा विरोध गरेका छन्।
संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफेन डुजारिकले सोमबार पत्रकारहरूसँग कुरा गर्दै भने, “संयुक्त राष्ट्रसंघ सबै परिस्थितिमा मृत्युदण्डको विरोध गर्दछ। हामी यस मामलामा मानव अधिकार उच्चायुक्त भोल्कर टर्कको भनाइसँग पूर्ण रूपमा सहमत छौं।”
हसिनालाई बंगलादेशको अदालतले उनको अनुपस्थितिमा सजाय सुनाएको हो। हाल उनी भारतमा निर्वासनमा छिन्। संयुक्त राष्ट्रसंघका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कको कार्यालयका प्रवक्ता रविना शामदासानीले पनि यस निर्णयमा टिप्पणी गर्दै भने, “शेख हसिना र उनका गृहमन्त्री असदुज्जमान खान कमलविरुद्धको फैसला गत वर्ष बंगलादेशमा भएका विरोध प्रदर्शनको क्रममा भएका गम्भीर मानव अधिकार उल्लङ्घनका पीडितहरूको लागि महत्वपूर्ण क्षण हो।”
यद्यपि उनले जोड दिईन् कि संयुक्त राष्ट्रसंघले मुद्दाको कार्यवाही अनुगमन गरेको थिएन। त्यसैले, मुद्दा अनुपस्थितिमा सञ्चालन भइरहेका अवस्थामा मृत्युदण्डको सम्भावना रहेको निर्णयमा निष्पक्ष मुद्दा र उचित प्रक्रिया कायम हुनु आवश्यक छ।
सजाय सुनाउने अदालतले आफूलाई ‘अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण’ भन्दै आएको छ। यो अदालत बंगलादेशी न्यायाधीशहरूद्वारा गठन गरिएको हो र १९७१ को मुक्ति युद्धको समयमा भएको नरसंहारका मुद्दा हेर्नको लागि सिर्जना गरिएको थियो।
हसिनालाई सत्ताबाट हटाइएपछि, तत्कालीन अन्तरिम सरकारले पुरानो अदालतलाई पुनर्जीवित गर्दै उनी र उनका सहयोगीहरूविरुद्ध गत वर्षको विद्यार्थी विरोध प्रदर्शन दमनसम्बन्धी मानवता विरुद्धको अपराधमा मुद्दा चलाउने प्रयास गरेको थियो।



















