विराटनगर — मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलमा बुहारीले सासू–ससुरालाई खानामा विष मिसाएर खुवाएको गम्भीर घटना सार्वजनिक भएको छ। विष सेवनबाट ७७ वर्षीया इन्द्रमाया राईको मृत्यु भएको छ भने ७० वर्षीय भक्तबहादुर राईको अवस्था गम्भीर छ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा वृद्ध दम्पतीसँगै बस्दै आएकी भतिजो बुहारी ३२ वर्षीया सुनीता कार्कीलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार शनिबार दिउँसो भक्तबहादुर राई घर नजिकको खोल्सामा बेहोस अवस्थामा फेला परेका थिए। स्थानीयले उद्धार गरी घर ल्याउँदा उनकी पत्नी इन्द्रमाया राई पनि घरभित्र बेहोस अवस्थामा भेटिएकी थिइन्। घर वरपर हेर्दा खोरमा रहेका ३ वटा कुखुरासमेत मरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
दुवैलाई तत्काल उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल पुर्याइएको थियो। आईसीयूमा उपचाररत इन्द्रमायाको राति १०:४० बजे मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले बताए। भक्तबहादुरको अवस्था गम्भीर रहेको उनले जानकारी दिए।
घटनास्थलबाट विषादीको बट्टा जलेको अवस्थामा फेला परेपछि खानामा विष मिसाइएको आशंका थप प्रष्टिएको प्रहरीको निष्कर्ष छ। परीक्षण नगरेसम्म कुन विष प्रयोग भएको हो भन्ने पुष्टि हुन बाँकी रहेको प्रहरीको भनाइ छ।
डीएसपी चौधरीका अनुसार प्रारम्भिक अनुसन्धानमा सुनीताले सासू–ससुरालाई दिएको खानामा विष मिसाएको खुलेको छ। वृद्ध दम्पतीले उब्रिएको खाना कुखुरालाई खुवाएका थिए र कुखुरा मरेको पाइएपछि घटनाको प्रकृति झन् स्पष्ट भएको प्रहरीले बताएको छ।
मृतक दम्पतीका आफ्नै सन्तान नभएकाले उनीहरू भतिजो प्रशान राई र उनकी श्रीमती सुनीता कार्कीसँग बस्दै आएका थिए। घटना भएको बेला प्रशान घरबाहिर रहेका थिए।
प्रहरीले सुनीताविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी अदालतबाट म्याद थपेर थप अनुसन्धान अघि बढाइरहेको छ। विष प्रयोगको कारण भने अहिलेै स्पष्ट हुन बाँकी रहेकाले सबै कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि बेलबारी क्षेत्रमा सनसनीपूर्ण माहोल सिर्जना भएको छ। स्थानीयले निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गरेका छन्।




















