विराटनगर — सुनसरीको रामधुनी नगरपालिका–२ मा सफारी चालकको गोली हानेर हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।

असोज २५ गते साँझ मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरुले सीटी सफारी चालक ४५ वर्षीय दिनेशकुमार चौधरीमाथि गोली प्रहार गरेका थिए।

प्र–१–०२–००४ ह ७८०४ नम्बरको सफारी लिएर उत्तरबाट दक्षिणतर्फ जाँदै गरेका बेला चौधरीमाथि बायाँ छातीमा गोली हानिएको थियो। अत्यधिक रगत बगेका चौधरीलाई गम्भीर घाइते अवस्थामा फेला पारिएको थियो। उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पुर्‍याइएकोमा उनको मृत्यु भएको थियो।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार घटनामा संलग्न सात जनालाई सुनसरी र सप्तरीका विभिन्न स्थानबाट पक्राउ गरिएको हो। पक्राउ परेकाको विस्तृत विवरण प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ।

चौधरीको हत्या किन र कसरी योजनाबद्ध गरिएको हो भन्नेबारे यकिन कारण खुल्न बाँकी रहेको भन्दै प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको छ।